एसियन लिडरशिप अवार्ड चितवनका प्रधानाध्यापक डा. कँडेललाई

काठमाडौं । भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेल एसियन लिडरशिप अवार्ड प्राप्त गर्न सफल भएका छन् ।

५० भन्दा बढी विधामा विश्वभरिका सयौं व्यक्तिहरुलाई दिईने यो पुरस्कारको बिजेताहरु घोषणा हुने क्रम शुरु भएको छ । यसै क्रममा नेपालका डा. कँडेललाई उत्कृष्ट प्रधानाध्यापक भन्दै ‘रिसर्च अन्डर लिटेरल एक्सेस इन्टरनेशनल’ अवार्डका लागि छनोट गरिएको हो ।

सन् २०११ देखि प्रारम्भ भएको एसियन लिडरशिप अवार्डको १० औं संस्करण यो वर्ष अक्टोवर १५ मा सम्पन्न हुँदै छ ।

दुवईको दुवई मलमा प्रधान कार्यालय रहेको संस्थाले जुलाई २१ का दिन आफ्नो अफिसियल पेजमा नेपालका डा. कँडेललाई अवार्ड विजेता भएको ब्यानर सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा खुसियाली छाएको देखिन्छ ।

स्मरणीय कुरा के छ भने डा. कँडेललाई गतवर्ष पीपी प्रसाई फाउन्डेसनले सन् २०१९ को नेपालकै सर्वोकृष्ट शिक्षक र प्रअ अवार्ड प्रदान गरेको थियो ।

त्यसैगरी डा. कँडेललाई कालिका नगरपालिका चितवन र शिक्षक संघ बागमती प्रदेशले पनि यस अघि उत्कृष्ट प्रअको रुपमा सम्मान गरिसकेको छ ।

यस एसियन लिडरशिप अवार्डको प्रायोजक संस्थाहरु क्रमशः वर्ल्ड रिसर्च काउन्सिल, वर्ल्ड बिजनेस फाउन्डेशन, अमेरिकन कन्जुमर सोसाइटी, आईडीएमएएस लर्निङ सेन्टर, आईजे आरयूएलए, युनाइटेड मेडिकल काउन्सिल, ब्युजिनेस प्लानेट रहेका छन् ।

पुरस्कार स्वरूप ब्याज, सम्मानपत्र र अन्य प्रायोजित नगद पुरस्कार दिइने जनाइएको छ । अवार्ड वितरणका दिन आफुले गरेका कामहरुको वारेमा प्रेजेन्टेसन गर्ने अवसर हुने छ । कार्यक्रममा विश्वभरबाट सयौं पाहुना र हजारौं उधोगी व्यवसायी तथा अन्य सहभागीहरुको भव्य उपस्थिति रहने जनाइएको छ ।

२०५६ सालदेखि विज्ञान शिक्षकका रुपमा शिक्षण पेशामा प्रवेश गरेका डा. कँडेल २०६३ सालमा स्थायी, २०६९ मा द्वितीय श्रेणीमा बढुवा हुँदै २०७१ असारदेखि प्रधानाध्यापकको जिम्मेवारीमा रहँदै आएका छन् ।

फरक काम गर्न भन्दा पनि हरेक काम फरक ढंगमा गर्न मन पराउने डा. कँडेल प्रअको भुमिकामा आउना साथ विद्यालयले छोटै समयमा कायापलट गर्न सफल भएको छ । केहीवर्ष अघि जिल्लामै गुमनाम विद्यालय डा. कँडेलको नेतृत्वमा आज मुलुककै उत्कृष्ट विद्यालयहरुको माझमा दह्रिन पुगेको छ ।

उनकै नेतृत्वमा विद्यालयले सूचना प्रविधियुक्त सिकाइको क्षेत्रमा उल्लेखनीय काम गर्न सफल भएको छ । एउटै शिक्षकले एउटा विषय पढाउँदा विद्यार्थीलाई ‘मोनोटोनस’ हुन्छ भनेर एउटै विषय पनि फरक–फरक शिक्षकले पढाउने व्यवस्था गर्ने देखि ११ र १२ मा गणित पढाउने शिक्षकहरुले पनि नौ र १० मा गणित पढाउने, ९ का गणित पढाउनेले ११ पढाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, ४ पढाउनेलाई ८ र ८ पढाउनेलाई ४ कक्षाको गणित पढाउन लगाउने गरिएको छ । यसबाट विद्यार्थीले सिकाइमा फरक स्वाद र विधि थाहा पाउने उनको भनाइ छ ।

विद्यालयले हरेक कक्षामा सिसिटिभी, स्मार्ट बोर्ड र हरेक शिक्षकलाई एउटा–एउटा ल्यापटप निःशुल्क उपलब्ध गराएको छ । शिक्षकलाई खोजेर, स्लाइड बनाएर प्रोजेक्टरको माध्यमबाट पढाउन अनिवार्य गरिएको छ । ४० हजार बढी किताबको सफ्ट कपि सहितको ई–लाईब्रेरीको व्यवस्था गरिएको छ ।

विद्यालयमा हरेक शिक्षकका लागि दराज, ल्यापटप, पिउने पानीका लागि फ्रिजको व्यवस्था गरिएको छ । अतिरिक्त कक्षा लिने शिक्षकलाई थप सुविधा साथै, शिक्षकहरुलाई दण्ड र सजायको पनि व्यवस्था गरिएको छ ।

शिक्षकहरुलाई पढाएको विषयमा गत वर्षको भन्दा नतिजा बढी ल्याउनैपर्ने व्यवस्था गरिएकोछ । आफ्नो विषयमा सबै विद्यार्थीलाई ८० प्रतिशत बढी अंकसहित उत्तीर्ण गराएमा एक तोलाको गोल्ड मेडल दिने र कमजोर नतिजा ल्याए तल्लो कक्षामा पढाउन लगाउने, स्पष्टिकरण दिने व्यवस्था गरेका छौं । एक वर्ष कमजोर नतिजा ल्याउने शिक्षकले अर्को वर्ष सोही कक्षा पढाउन नपाउने व्यवस्था गरिएको छ ।

बालमैत्री डेस्कबेञ्च र कर्नर पुस्तकालय र कक्षाकोठामा दराज, जुत्ता दराजको व्यवस्था गरिएको छ विद्यालयमा । संस्थागत विद्यालयका अंग्रेजी माध्यमका जुन पाठ्यक्रम र पाठ्यपुस्तक छ, त्यो नै लागू गरिएको छ ।

शिक्षक संघ चितवनका अध्यक्षसमेत रहेका डा. कँडेलले लकडाउनको अवधिमा दक्षिण एसिया एवम् सिंगापुर, थाइल्याण्डलगायतका देशका शिक्षकसँग वैकल्पिक सिकाइ विधि र नवीनतम शिक्षण विधिका सम्बन्धमा विचारहरु आदानप्रदान गर्नमा व्यस्त भएका थिए । यस्तै नेपालका शिक्षकहरुको प्रावियुक्त सिकाइ क्षमता वृद्धिका लागि सयबढी भर्चुअल शिक्षक तालिम र प्रशिक्षण सञ्चालन गरेका थिए ।

प्रअ डा. कँडेलले भने, ‘विद्यार्थी अनुत्तीर्ण हुँदा शिक्षकको केही गुम्ला, अभिभावकको त सर्वश्व जान्छ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *