घरेलु हिंसा विरुद्ध काम गर्न जोन्टा क्लब र नेपाल प्रहरीबीच सहकार्य

काठमाडौँ । महिला अधिकार र सशक्तीकरणका लागि काम गर्दै आइरहेको जोन्टा क्लब अफ काठमाडौँले घरेलु हिंसा विरुद्धको लडाइँमा सहयोग गर्न नेपाल प्रहरीसँग साझेदारी सुरु गरेको छ । जोन्टा क्लबले १४ जना प्रतिष्ठित कानुनी अधिवक्ता र नेपाल प्रहरीसँग समन्वय गरेर घरेलु हिंसाका पीडितलाई कानुनी परामर्श वा कानुनी उपचार प्रदान गर्ने भएको हो ।

पीडितलाई कानुनी सहयोग वा कुनै प्रकारको उजुरी वा निवेदन वा कानुनी सहयोगको आवश्यकता परेमा उसलाई निःशुल्क आवश्यक कानुनी सहयोग प्रदान गरिनेछ । घरेलु हिंसा सम्बन्धी कुनै पनि फोन १०० मा आएको खण्डमा सिधै १४ जना अधिवक्ता मध्ये कसैलाई सम्पर्क गराई सोही अनुरूप फोन मार्फत कानुनी परामर्श तथा अन्य कानुनी सेवा प्रदान गरिनेछ ।

यस पहलका लागि डिआइजी विश्व पोखरेलको निर्देशनमा एसएसपी किरण बज्राचार्यले पूर्ण सहयोग गर्ने निर्णय भई आजैबाट यस कार्यलाई अगाडी बढाउने सहकार्य गरेका छन् । यसका साथै अधिवक्ता रत्न कार्कीले जोन्टा वकालत समितिको अध्यक्षता गर्नेछन् ।

कोभिड—१९ महामारीको फैलावटलाई कम गर्न नेपाल सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन लागू गरेको थियो । योसँगै दुर्व्यवहारका घटनाहरू पनि बढेका छन् । यसको प्रतिक्रियाको रूपमा जोन्टाले नेपाल प्रहरीको सहकार्यमा पीडित महिलाहरूलाई घरेलु हिंसा विरुद्ध लड्न सहयोग गर्ने लक्ष्य लिएको छ ।

जोन्टा क्लब अफ काठमाडौँकी अध्यक्ष जोन्शियन सीमा गोल्छाले भनिन्, “लकडाउनको घोषणा भएदेखि घरेलु हिंसा बढेका छन् । पीडित महिलाहरू घरमा दुर्व्यवहार गर्ने व्यक्तिहरूसँग फसेका छन् जसले उनीहरूलाई अझ असुरक्षित बनाएको छ । हामी आशा गर्दछौँ कि नेपाल प्रहरी र अधिवक्ताहरूको सहयोगमा हामी पीडितहरूलाई सहयोग गर्न र घरेलु हिंसा विरुद्ध लड्न सक्षम हुनेछौँ ।”

सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायीहरुको एक अग्रणी ग्लोबल संस्था हो । जुन सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तीकरणमा लागि परेको छ । जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत जोन्टा क्लब अफ काठमाडौँ सन् २०१२ मा स्थापना भएको थियो । यो काठमाडौँमा कानुनी रूपमा दर्ता गरिएको गैर–नाफा मूलक संस्था हो । जसले महिलाहरूको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, स्थानीय तथा राष्ट्रिय स्तरका युवा र महिला हिंसा तथा बाल विवाहसँग सम्बन्धित मुद्दाहरू सुधार गर्ने उद्देश्यका साथ महिलाहरूको स्तर उन्नतिका लागि काम गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =