कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु, सहायक प्रजिअ भन्छन्– ‘स्थिति भयावह छ’

वीरगञ्ज । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थानका ७० वर्षीय एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको सहायक प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिए ।

सहायक प्रजिअ बस्नेतका अनुसार सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि ती वृद्धलाई नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो । दिउँसो भर्ना भएका उनको मंगलबार अपरान्ह मृत्यु भएको हो । मृत्युपछि गरिएको स्वाब संकलनमा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको हो । उनीमा अन्य कुनै स्वास्थ्य समस्या भने देखिएको थिएन ।

त्यस्तै बिहीबार वीरगञ्जका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि सहायक प्रजिअ बस्नेतले जानकारी दिए । उनले मकालु खबरसँग भने, ‘यहाँ थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ जनामा कोरोनाकै लक्षण देखिएको छ । स्थिति भयावह छ ।’

लकडाउन खुकुलो भएको अवस्थामा स्थिति भयावह बन्दै गएपछि त्यहाँको विपद् व्यवस्थापन समिति, सिडियो कार्यालय लगायतका पदाधिकारीहरुको बैठक बस्न लागिएको पनि उनले बताए ।

थप एक संक्रमितकाे मृत्यु भएसँगै नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ४३ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *