प्रिमियर लिगमा चेल्सी शीर्ष चारको दौडमा सकस, च्याम्पियनसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा च्याम्पियन बनेको लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले चेल्सीमाथि ५–३ को जित निकालेको हो ।

एनफिल्डमा लिभरपुलसँगको हारसँगै चेल्सीको शीर्ष चारको यात्रा कठिन बनेको छ । अब चेल्सीले शीर्ष चारमा स्थान बनाउनको लागि अन्तिम खेलमा वल्भ्सलाई पराजित गर्नुपर्ने हुन्छ । तेस्रो र पाँचौ स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीबीचको खेलले पनि चेल्सीको शीर्ष चारको यात्रालाई तय गर्नेछ ।

लिभरपुलको जितमा नावी केइटा, ट्रेन्ट एलेक्सन्डर अर्नोल्ड, जर्जिन्हो विज्नल्डम, रोवर्टो फिर्मिन्हो र एलेक्स अक्सलेड चेम्वरलेनले गोल गरे । चेल्सीका ओलिभर जिरुउड, टम्मी अब्राहम र क्रिस्टियन पुलिसिसले गोल गरे ।

प्रतिस्पर्धात्मक र गोलको वर्षा भएको खेलको २३औं मिनेटमा नावी केइटाको गोलबाट लिभरपुलले खेलमा अग्रता बनाएको थियो । ३८औं मिनेटमा ट्रेन्ट एलेक्सन्डर अर्नोल्डले गोल गरेपछि लिभरपुलले अग्रता दोब्बर बनायो । ४३औं मिनेटमा मोहम्मद सलाहको पासमा जर्जिन्हो विज्नल्डमले गोल गरेपछि लिभरपुल खेलमा ३–० ले अघि बढ्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ओलिभर जिरुउडले गोल गर्दै चेल्सीलाई खेलमा ३–१ को अवस्थामा ल्याए ।

५५औं मिनेटमा ट्रेन्ट एलेक्सन्डर अर्नोल्डको पासमा फिर्मिन्होले गोल गरेपछि लिभरपुलले ४–१ को अग्रता बनायो । ६१औं मिनेटमा क्रिस्टियन पुलिसिसको पासमा टम्मी अब्राहमले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याए । ७३औं मिनेटमा कलुम हड्सन ओडोईको पासमा क्रिस्टियन पुलिसिसले गोल गरेपछि चेल्सीलाई ४–३ को अवस्थामा ल्याउदै खेलमा फर्कने संकेत दिएका थिए । तर, ८४औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनले गोल गरेपछि चेल्सीको आशा सकिएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल ५–३ ले विजयी हुन सफल भयो ।

म्यानचेस्टर र वेस्टह्याम बराबरीमा

लिगमा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकिएको छ । युनाइटेडकाे घरेलु मैदानमा वेस्टह्यामसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा वेस्टह्यामका माइकल एन्टेनियोले गोल गर्दा युनाइटेडका मासन ग्रीनवुडले गोल फर्काएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा माइकल एन्टेनियोले पेनाल्टीमार्फत गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाएका थिए । ५१औं मिनेटमा घरेलु टोलीका मासन ग्रीनवुडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेडले वेस्टह्यामसँग अंक बाड्न बाध्य बन्यो ।

बराबरीपछि युनाइटेडले चेल्सीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । चेल्सीसँग समान ६३ अंक रहेपनि युनाइटेड गोलअन्तरमा अगाडी छ । अब युनाइटेडले अन्तिम खेलमा लेस्टर सिटीसँग खेल्दैछ ।

यो खेलमा जित हात पारे युनाइटेडको शीर्ष चारको यात्रा सुरक्षित हुनेछ । हारले चेल्सी र वल्भ्सको नतिजाले युनाइटेडको शीर्ष चारको भविष्य निर्धारण गर्नेछ । लेस्टर ६२ अंक जोडेर पाँचौ स्थानमा छ । वेस्टह्याम ३८ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

लिभरपुलसँगको हारसँगै चेल्सी ६३ अंक जोडेर चौथो स्थानमा झरेको छ । समान ६३ अंक रहेपनि म्यानचेस्टर युनाइटेड गोल अन्तरमा तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको ९६ अंक पुगेको छ । च्याम्पियन बनेको लिभरपुलले यही खेलपछि नै प्रिमियर लिगको ट्रफी उचालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *