वीपी प्रतिष्ठानमा अर्का कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको सख्या ४१ पुग्यो

धरान । धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार साँझ एक जना कोरोना संक्रमित विरामीको निधन भएको हो ।
भेन्टिलेटरमा राखेर उपचार भइरहेका महोत्तरी जिल्लाका ६० बर्षीय वृद्धको साँझ मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताए । सप्तरीबाट प्रतिष्ठानमा उपचारका लागि आउँदा नै सिकिस्त अवस्थामा रहेका ती वृद्धलाई शुरुमा आइसियुमा राखेर उपचार गरिएको थियो ।
उनको पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि हिजो आइसियुबाट आइसोलेसनमा स्थानान्तरण गरिएकोमा साँझ मुत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
‘उहाँ वीपीमा उपचारमा आउदा नै सिरियस हुनुहुन्थ्यो, आइसियुमा राखेर उपचार गर्दा उहाँमा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेका थियौं, आज साँझ निधन भयो ।’ प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले बताए ।
प्रतिष्ठानले मृतक बृद्धको शव साँझ नै पठाउने व्यवस्था गरेको प्रवक्ता डा. सापकोटाले बताए । ‘नेपाली सेनासँग समन्वय गरेर शव व्यवस्थापन गर्ने प्रोटोकल अनुसार उनको शव व्यवस्थापन गरीसकिएको छ’ उनले भने ।
प्रतिष्ठानमा यसअघि सप्तरीको राजविराजका एक वृद्धको उपचारको क्रममा निधन भएको थियो । प्रतिष्ठानमा उपचाररत संक्रमित व्यक्तिको मृत्यु भएको संख्या २ पुगेको छ ।उनीहरु दुवै जना प्रदेश २ का हुन् । प्रतिष्ठानमा प्रदेश १ को कोभिड ३ अस्पताल तयार पारिएको छ ।








