स्ट्रलिङ चम्कदा सिटीको सानदार जित, एस्टन भिल्लासँग हार्यो आर्सनल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । गए राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा रहिम स्ट्रलिङले दुई तथा फिल फोडेन र एमेरिक लापोर्टेले समान एक गोल गरे । जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलमा ७८ अंक जोडेको छ । र, सिटीले च्याम्पियन तथा लिग लिडर लिभरपुलसँगको अंक दुरी समेत घटाएको छ । वाट्फोर्ड ३४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
आर्सनलमाथि एस्टन भिल्लाको महत्वपूर्ण जित
लिग अन्तर्गतको अर्काे खेलमा एस्टन भिल्लासँग आर्सनल पराजित भएको छ । गएराती रेलिगेशन जोनमा रहेको एस्टन भिल्लाले आर्सनलमाथि १-० गोल अन्तरको महत्वपूर्ण जित निकालेको छ ।
भिल्लाको जितमा ट्रेजेगुएट्सले खेलको २७औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि भिल्ला रेलिगेसन जोनबाट बाहिर त आएको छ तर रेलिगेसनबाट बच्न अन्तिम खेलको नतिजामा भर पर्ने छ । ३७ खेलपछि भिल्लाको ३४ अंक छ भने लिगमा १७औ स्थानमा उक्लिएको छ ।
त्यस्तै आर्सनल भने ३७औ खेलपछि ५३ अंकसहित लिगमा १०औ स्थानमा रहेको छ । अब अन्तिम खेलमा भिल्लाले वेस्टह्यामको सामना गर्ने छ भने आर्सनलले वाटफोर्डको सामना गर्ने छ ।








