“नेपालमा वीपीको विचार र सिद्धान्त अझै आवश्यक छ” डा. कोइराला

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले स्वर्गिय वीपी कोइरालाको आदर्श र सिद्धान्त अझैपनि सान्दर्भिक रहेको बताएका छन् ।

कांग्रेस संस्थापक नेता वीपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा  विराटनगरमा आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले मुलुक संकटमा परेको बेला स्वर्गिय वीपी कोइरालाको विचार सान्दर्भिक रहेको बताए ।

“स्वर्गिय विश्वेश्वर प्रसाद कोइराला जसले मुलुकको स्वाधिनता र अखण्डताको रक्षार्थ सदैव आफुलाई उभ्याउनु भएको थियो, जसले गरिब किसान, मजदुरका पक्षमा राजनीति गर्नुपर्छ भन्नु भएको थियो उहाँको भनाई र गराई अहिले पनि उत्तिकै सान्दर्भिक छ । मुलुक संकटमा परेको बेला वीपीले गरेको योगदान निकै महत्वपूर्ण थियो ।” डा. कोइरालाले भने ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिले विराटनगरस्थित आदर्श विद्यालयमा वृक्षरोपण गरिएको थियो । उक्त वृक्षरोपण अवसरमा प्रदेश नं. १ का प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की लगायत सहभागी थियो ।

वीपी कोइराला २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । तर, दुई वर्ष पनि काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनी लामो समय भारत निर्वासनमा गएका थिए ।

भारतमै रहँदा नेपालको सार्भभौम सत्ता नै खतरामा परेको महशुष गरेपछि उनी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कीएका थिए । तर, उनलाई राजा महेन्द्रले धोका दिएर सुन्दरीजल जेलमा लामो समय बन्दी बनाएका थिए ।

स्वर्गिय कोइरालाको नेपाली साहित्य क्षेत्रमा पनि महत्वपूर्ण योगदान रहेको छ । उनका दोषी चस्मा, तीन घुम्ती, सुम्निमा, मोदी आइन जस्ता चर्चित कृतिहरुले नेपाली साहित्यको भण्डार भरेका छन् ।

नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *