‘नेकपाको वास्तविक अध्यक्ष त राष्ट्रपतिज्यू नै हुनुहुँदोरहेछ, बधाई छ’

विराटनगर । नेकपा भित्रको कलह मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी आफैं सक्रिय भएपछि उनको तीव्र विरोध भइरहेकोमा प्रदेश १ संसदमा पनि आलोचना भएको छ ।

प्रदेश १ को प्रमुख विपक्षी दल काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले आज सोमबारको संसद् बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताका विषयमा बोल्दै राजनीतिक चलखेल गर्ने मन भए मार्गप्रशस्त गर्न भने । उनले राष्ट्रपति जस्तो सम्मानीत संस्थालाई वद्नाम गराउने कार्य स्वयं राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ दलबाट भएको जिकिर गरे ।

‘सर्वप्रथम नेकपालाई बधाई छ, बल्खुमा भवन भत्केपछि पार्टी कार्यालय शीतल निवास सारिएछ’ संसदको शुन्य समयमा बोल्दै प्रमुख सचेतक कार्कीले भने ‘अहिले अध्यक्ष भनिएका दुई जना खासमा उपाध्यक्ष रहेछन्, वास्तविक अध्यक्ष राष्ट्रपतिज्यू नै हुनुहुँदोरहेछ, संविधानले किटान गरेको संवैधानिक भूमिकाभन्दा राजनीतिक चलखेल नगरी बस्नै नसक्ने भए राष्ट्रपतिले मार्ग प्रशस्त गर्नुपर्छ ।’

उनले प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालय भ्रष्टाचारको अखडा बनेको पनि दावि गरे । मोरङ स्थित मनमोहन पोलिटेक्निकललाई विश्वविद्यालय मातहतमा ल्याएर त्यसलाई भ्रष्टाचार गर्ने अखडा बनाइएको उनको तर्क छ । ‘मनमोहन पोलिटेक्निकलाई विश्वविद्यालय मातहत ल्याएको घोषणा गरियो । अहिले फेरि अनेक नाममा पोलिटेक्निकलाई बजेट खन्याउने काम भइरहेको छ । जग्गा किन्ने सूचना जारी भयो तर एक करोडको लेनदेन नहुने भएपछि सूचना रद्द गरिएको छ । मुख्यमन्त्रीले यसबारे छानबिन गर्ने हिम्मत देखाउनुपर्छ ।’ कार्कीले भने ।

आजको संसदमा अन्य विपक्षी तथा सत्तारुढ सांसदहरुले पूर्व गोर्खा सैनिक, सिंगापुर प्रहरीका अवकाश प्राप्त ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिन बन्द गर्ने सरकारी निर्णयको विरोध गरे ।

संसदमा संघीय लोकतान्त्रिक मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे, नेकपा सांसद राजन राई लगायतले पूर्वगोर्खा सैनिक, सिंगापुर प्रहरीबाट आवकास प्राप्त जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न माग गरे ।

सरकारले गत असार १७ गते उनीहरुको सामाजिक सुरक्षा भत्ता काट्ने निर्णय गरेको थियो । दोहोरो सुविधा नपाउने सरकारी तर्क हावादारी भएको भन्दै उनीहरुले पेन्सनवापतको पैसा नेपाल सरकारले दिएको हो र ? भन्दै प्रश्न समेत गरे ।

आजको संसदमा बोल्दै काँग्रेस सांसद ओमप्रकाश सरावगीले भद्रपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला समृति भवनलाई सरकारले अलपत्र पारेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *