‘राष्ट्रपति नेकपाको सल्लाहकार जस्तो भए’ वरिष्ठ अधिवक्ता श्रेष्ठ

काठमाडौं । राष्ट्रपति जस्तो सम्मानीत संस्थालाई विवादमा ल्याउने काम स्वयं राष्ट्रपतिका पछिल्ला कार्यहरुबाट भइरहेको बरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बताएका छन् । सत्तारुढ नेकपा भित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी सक्रिय रहेको देखिएको छ ।

पार्टीका अध्यक्षद्वय र शिर्षस्थ नेताहरुलाई राष्ट्रपति निवासमै बोलाएर भण्डारीले राष्ट्रपति पदको गरिमा नै कुल्चिएको वरिष्ठ अधिवक्ता श्रेष्ठको दावि छ । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै श्रेष्ठले राष्ट्रको सर्वोच्च र साझा पदमा आसिन राष्ट्रपति विद्यादेवी भण्डारी सत्तारुढ दल नेकपाको विवादमा संलग्न भएपछि उहाँलाई राष्ट्रपति हो की नेकपाको सल्लाहकार हो भन्ने प्रश्न उठ्न थालेको समेत बताए ।

उनले राष्ट्रपतिबाट संविधानले नदिएको काम समेत भइरहेको बताउँदै भने–‘पार्टी भित्रको विवाद मिलाउने प्रयास गर्नु राष्ट्रपतिको क्षेत्राधिकार भित्रै पर्ने हो भने उहाँले अन्य पार्टीको विवादमा पनि सहयोग गर्नुपर्यो, नत्र नेकपा भित्रको विवादमा मात्रै संलग्न हुने हो भने उहाँ नेकपाको सल्लाहकार जस्तो देखिनुभयो ।’

वरिष्ठ अधिवक्ता श्रेष्ठले राष्ट्रपति भण्डारी देशको राष्ट्रपति हो की नेकपाको सल्लाहकार हो भन्ने अलमल हुन थालेको जिकिर गर्दै संविधानको संरक्षकले नै संविधानको धज्जी उडाउन थालेपछि संविधान नै समाप्त हुने खतरा बढेको समेत बताए । ‘अहिलेको संविधान पनि रहन्छ की रहन्न भन्ने अवस्था आयो । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदलगायत जिम्मेवार पदाधिकारीहरुले नै संविधान उलंघन गरेपछि अरुले किन मान्ने भन्ने प्रश्न उठ्छ र संविधान समाप्त हुनसक्छ ।’ श्रेष्ठको तर्क छ ।

प्रधानमन्त्रीले र पार्टीका नेताहरुले राष्ट्रपतिलाई मनलाग्दी भेट्न नमिल्ने र भेटेपछि के विषयमा भेटेको हो भन्ने बारेमा जानकारी दिनु पर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको श्रेष्ठको भनाई छ । ‘भारतमा पनि राष्ट्रपति छन्, अरु देशका पनि छन्, त्यहाँका राष्ट्रपतिलाई प्रधानमन्त्रीले त्यत्तिकै भेट्न पाउँदैनन्, भेटेपछि त्यहाँ भएका सबै विषय बाहिर ल्याइन्छ । तर, यहाँ त प्रधानमन्त्री र नेकपाका शिर्ष नेताहरुले जुनसुकै बेला भेटिरहेका छन् ।’ श्रेष्ठले भने ।

अधिवक्ता श्रेष्ठले अहिलेका नेकपामा रहेका नेताहरुमा इमान्दारिता र नैतिकता भन्ने नरहेको समेत तर्क गरे । नेताहरु कुनै न कुनै स्वार्थबाट प्रेरित रहेको बताउँदै तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपामा निष्ठावानहरुभन्दा अवसरवादीहरु निर्णायक भएको दावि गरे ।

उनले नेकपामा स्वार्थ र षड्यन्त्र गर्नेहरु, लाभ र व्यापार खोज्नेहरुको भिड भएकाले देश र जनताको हितको विषय ओझेलमा परेको ठोकूवा गरे । साथै प्रधानमन्त्री केपी शर्मा ओलीको अकर्मण्यता र व्यक्तिवादी प्रबृत्तिका कारण नेकपाको अहिलेको विवाद सृजना भएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *