ला लिगाको अन्तिम खेलमा बार्सिलोनाको रवाफिलो जित

काठमाडौं । स्पेनिस ला लिगाको चालु सिजनको अन्तिम खेलमा बार्सिलोनाले प्रभावशाली जित निकालेको छ । बार्सिलोनाका कप्तान लियोनल मेसी प्रेरित खेलमा बार्सिलोनाले अलाभेसलाई ५–० को फराकिलो जित निकाल्यो ।

कोभिड–१९ अगाडीसम्म लिगमा शिर्ष स्थानमा रहेको बार्सिलोनाले त्यसपछिको खेलमा लय गुमाउँदा यस पटकको ला लिगाको उपाधि चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई बुझाइसकेको छ । कोभिड–१९ पछिको खेल मध्येमा आज मात्र बार्सिलोना लयमा देखिएको हो ।

अलाभेसलाई पराजित गर्ने क्रममा पहिलो गोल बार्सिलोनाका युवा स्टार अन्सु फातीले खेलको २४ औं मिनेटमा गोल गरे ।
पिचिची अवार्डको दौडमा रियलका करिम बेञ्जिमा भन्दा अगाडी रहेका मेसीले दोश्रो गोल गरे । उनले ३४ औं मिनेटमा रिक्की पुगको एस्सिस्टमा दोश्रो गोल गरेका हुन् ।

खेलको ४४ औं मिनेटमा अल्बाको एसिस्टमा लुइस सुवारेजले तेस्रो गोल गरे । खेलको दोस्रो हाफको ५७ औं मिनेटमा नेन्सन सुमेडोले गोल गरे । लियोनल मेसीले पुनः ७५ औं मिनेटमा आकर्षक गोल गरेर व्यक्तिगत रुपमा पिचिचि अवार्डको प्रमुख दावेदार बन्दै सिजनको विदाई गरे ।

उनले जारी ला लिगामा २५ गोल गरेका छन् । उनी पछि रियलका बेञ्जेमा २१ गोल सहित दोस्रो स्थानमा छन् । आजैको ला लिगाको अन्तिम खेलमा बेञ्जिमाले ४ भन्दा बढि गोल गरे पिचिचि अवार्ड पाउन सक्छन् । तर, एउटै खेलमा ४ गोल गर्नु लगभग असंभव जस्तै हो ।

लिगमा मेसीले आज २१ औं एसिस्ट पनि गरे । खेलको पहिलो गोल अन्सु फातीले गर्दा मेसीको नाममा जारी सिजन सर्वाधिक असिस्ट गर्ने रेकर्ड पनि बनेको छ ।

जितसँगै बार्सिलोनाले ३८ खेलमा ८२ अंक जोड्दै दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ । एक खेल कम खेलेको च्याम्पियन रियलको ८६ अंक रहेको छ । अलाभेस भने ३९ अंकसाथ १६ औं स्थानमा रह्यो । आजै ला लिगाका बाँकी अन्तिम खेलहरु भइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *