श्रीमतीलाई काठमाडौंमा छोडेर श्रीमान बेपत्ता, बच्चा र आमाको बिचल्ली (भिडियाेसहित)

काठमाडौं । एउटी विवाहिता महिलाको जीवनमा श्रीमान जतिको दरिलो खम्बा अरु के हुन सक्छ, जसलाई सजिलै भरोसा गर्न सकियोस् । लड्दा उसैको सहारामा उठ्न सकियोस् । निर्धक्क ।

त्यही दरिलो खम्बा नै भाँच्चियो भने ? लड्खडाएको जीवनको टेको लगाउन मुश्किल पर्छ । विना टेको यसरी नै लड्खडाउँदै चलिरहेको छ सिन्धुली कपिलकोटकी ३६ वर्षीय जुना ज्ञान्द्रिस मगरको ।

हाल तारकेश्वर नगरपालिका-४ काठमाडाैंमा बस्दै आएकी जुनाले करिब १३ वर्षअघि सिन्धुलीका तीलक बहादुर ज्ञान्द्रिस मगरसँग अन्तरजातीय विवाह गरेकी थिइन् । पोखराबाट छिमेकी दिदीको सल्लाहमा केही गर्छु भनेर काठमाडौं छिरेकी जुनाको यहाँ आएको केही महिनामै विवाह भएकाे हाे ।

काठमाडौंमै रहेका तीलक ती छिमेकी दिदीको घरमा आउजाउ गरिरहन्थे । सोही क्रममा उनको नजर जुनामा पर्यो । विवाहको कुरा चलाए । दिदीले जुनालाई सुनाइन्, उनले केटाको बारेमा केही थाहा नभएको भन्दै नगर्ने भनिन् । तीलक त मरिहत्ते नै गर्न थाले । ‘तिमीले विवाह नगरे म मर्छु’ सम्म भन्न भ्याए । दिदीले ‘केटोको आनीबानी राम्रो छ, सुखले पाल्छ । तँलाई अलपत्र पार्न दिँदैनौँ’ भनेपछि विना पनि राजी भइन् र मन्दिरमा विवाह गरिदिए ।

विवाह लगतै छोरी जन्मिइन् । दोस्रो पटक पनि छोरी नै जन्मिएपछि भने श्रीमान टाढिन थाले । आफूलाई पाल्छु भनेर लगेका श्रीमानलाई उनी आफैँले पालेकी थिइन् । तैपनि रिझिएनन् ।

‘सायद छोरी मात्रै पाएर पो हो कि !’,  जुना अन्दाज लगाउँछिन् ।

श्रीमान् कहाँ छन् भन्ने पनि थाहा छैन उनलाई । साथमा राख्नका लागि कोशिस नगरेकी पनि हाेइनन् । कतिपटक रोइकराइ पनि गरिन् । बरु चट्टान पग्लिएला तर पग्लिएन श्रीमानको मन । बेलाबखत आउँथे, गर्भवती बनाउँथे, सुत्केरी हुँदा बेपत्ता !

‘श्रीमान आफ्नो जिम्मेवारीबाट सधैँ पन्छिनुभयो । म भने घर खर्चका लागि सुत्केरी भएको १५ दिनपनि नबित्दै काममा धाउथेँ । कति पटक घरैमा खेतिकिसानी गरेर बस्छु पनि भनेकी हुँ । घर लैजानुस् भन्यो कि कुटपिट गर्नुहुन्थ्यो । परिवारका बारेमा खुलेर कुरै गर्नुहुन्न’, जुना बताउँछिन् ।

चौँथो सन्तान पेटमा आएपछि पनि त्यस्तै व्यवहार भएपछि उनले एबोर्सन गर्छु भन्दै पैसा मागिन् । दिएनन् पैसा अनि जन्मिइन् फेरि अर्की छोरी । अहिले उनैलाई खुवाउन, हुर्काउन सकस परेको छ जुनालाई । उनी भन्छिन्, ‘म त नुनसँग पनि खाना खान्छु तर छोरीलाई के खुवाएर हुर्काउनु ? छोरी सानी छ भनेर काम पनि दिएनन् कसैले ।’

५ कक्षासम्म पढेकी जुनाले श्रीमानको बेजिम्मेवारपनका कारण तीन सन्तानलाई आफ्नो ममता ओढाउनै पाइनन् । वास्तवमा उनको इच्छा त २ सन्तान मात्रै थिए । परिवार नियोजनका साधनबारे ज्ञान नहुँदा अर्को दुई सन्तान पनि थपिए अनि आफूलाई नपाए मर्छु भनेका श्रीमानले अलपत्र पारिदिए ।

माइतीमा पनि गुहार नलगाएकी होइनन् उनले । सबैले ‘लडेर खा’ मात्रै भने, उनीमाथि भएको अन्यायविरुद्ध लड्नका लागि ‘म सहायता गर्छु’ कसैले भनेनन् । ‘भारतमा बुवाको हत्या भएपछि आमाको होस् छैन । बहिनीहरु आ–आफ्नै जिम्मेवारीमा छन् । भाइले पनि खासै वास्ता गर्दैन । माइतीले कडाइ नगर्दा अर्काको घरमा हेला हुने रहेछ’, उनी दुःख पोख्छिन् ।

जुनालाई गुजारा चलाउन समेत अप्ठेरो परेको छ अहिले । घरभेटीले पनि यो आइतबारसम्मको भाका दिएर निस्कन भनेका छन् । कोठामा सूचना समेत टाँसिदिएका छन्– ‘मेरो बाँकी बहाल बुझाई कोठा खाली गरिदिनुहोला ।’ एकताका त सानी छोरी कोठामा सुतेकै बेला बाहिरबाट ताल्चा लगाइदिएछन् घरबेटीले, जतिबेला उनी कोठा खोज्नका लागि भौँतारिएकी थिइन् ।

१ वर्षसम्मको भाडा तिर्न बाँकी छ । अन्त कोठा पाएकी छैनन् । सबैले सोध्छन्– ‘श्रीमान के गर्छन् । कहाँ छन् । तपाइँ के गर्नुहुन्छ ?’ जब वास्तविकता भन्छिन् तब घरधनीहरुले प्रश्न तेस्र्याउँछन्– ‘अनि भाडा कसरी तिर्नुहुन्छ त ?’ । ‘जसरी नि तिर्छु’ भन्दा पनि कसैले पत्याउँदैनन् ।

पटक पटक सम्पर्क गर्न खोज्दा पनि श्रीमान सम्पर्कमा नआएपछि छोरीहरुको लालनपालनका लागि मानापाथी भर्नेगरी अंशबण्डाको मुद्दा चलाउने सोच बनाएकी छिन् जुनाले । तर नागरिकता र छोरीको विवाह दर्ता गर्न जाँदा मरणासन्न हुनेगरी कुटपिट गरेका श्रीमानले ‘मानापाथी’ नदिने पो हुन् कि भन्ने चिन्ता पनि छ ।

०७५ फागुन ताका एक पटक आएका थिए श्रीमान् । उनलाई होइन, आफ्नो छुटेको नागरिकता लिनका लागि । आएका बेला हेर्छु त भने तर गर्भवती बनाए, गए । सुत्केरी उत्रिन पनि उनलाई हम्मे–हम्मे पर्यो । एक पैसा थिएन साथमा । व्यथा लाग्नु अघिल्लो दिनसम्म पनि कसैको घरमा कपडा धुँदै थिइन् गुजाराका लागि । बच्चा पेटमा आएदेखि नै उनलाई काम पाउन गाह्रो भएको थियो । काम गरेको ठाउँबाट समेत निकालिदिएका थिए ‘आराम गर’ भनेर । आराम गरेर पेट कसरी पाल्नु ?

जति नै रोइकराइ गरेपनि नियमितको ठाउँमा फाट्टफुट्ट मात्रै काम दिन थाले । त्यतिमै पनि गुजारा चलाइन् जसोतसो । सुत्केरीमा स्याहार्ने मान्छे समते भएनन् । यो अन्जान शहरमा चिनेजानेका भनेको उनै श्रीमान थिए जसले चटक्कै माया मारेर गए । रुँदारुँदै आँशु लुकाउन समेत खप्पिस भइसकिन् जुना । आँखा भरिएपनि आडैमा सम्हाल्छिन् ।

सायद आँशुलाई पनि वाक्क लाग्यो कि, कति पटक खस्नु भनेर !

गाउँमै एउटा घर बनाएर राखिदे भनेका थिए ससुराले तर श्रीमानले टेरेनन् । गाउँमै गएर नबसेकी पनि होइनन् । तर टिक्नै दिएनन् । नागरिकता बनाएर फर्किँदै गर्दा ‘छोरो पाउनेलाई मात्र अंश दिने हो छोरी पाउनेलाई होइन’ भने श्रीमानले । जिउँदो छँदा नहेरेपछि ‘श्रीमान छैन’ भन्दा केही पाइन्छ कि भनेर गाविसमा सोधिन् । बुढा हुँदाहुँदै पाइँदैन भनिदिए ।

श्रीमानले त बच्चा बेचेर खाइ समेत भने । त्यसैले पनि बाँकी जीवन श्रीमानसँग बिताउने इच्छा छैन उनलाई अब । ‘उहाँले हेर्नुभएको भए त किन टाढा राख्नुपथ्र्यो त आफ्नो बच्चालाई ? बुवाको कर्तव्य पुरा गर्नुपर्दैन उहाँले ? मलाई अब उसँग बस्ने इच्छा पनि छैन । मात्र छोरोछोरीको लालनपालनका लागि मानापाथी भरिदिउन्’, उनले भनिन् ।

कान्छी छोरीलाई माग्न पनि धेरै जना आइसकेका छन् । सबैले म लगेर पाल्छु भन्छन् उनको दुःख देखेर । तर दिन सकेकी छैनन् । ‘काम पाएँ भने पाल्न त म जसोतसो सक्छु तर शिक्षा दिन सक्दिन । उनीहरुकै भविष्य हेरेर मैले ३ छोरीलाई अन्त राखेकी छु । तर यो छोरी दिन सक्दिन’, उनले भनिन् ।

दोस्रो विवाह पनि गर्न चाहन्नन् जुना । भन्छिन्– ‘मैले दोस्रो विवाह गरेँ भने मेरो छोरीहरुको विचल्ली हुन्छ । आखिर विवाह गरेर सुख पाइने पनि त होइन रहेछ । फेरि अर्को दुःख किन भोग्नु ? के म घरीघरी बच्चा पाउनका लागि जाने ? छोरीहरु ठुली भएपछि बुझ्नेछन् मेरो दुःख र दिनेछन् सहारा पक्कै ।’

छिमेकतिर पनि श्रीमान नभएको भन्दै हेला गर्छन् । तर उनी केही भन्दिनन् । भन्छिन्– ‘अहिले पो दुःखमा छु र हेप्छन् । एकदिन त मेरो पनि पालो आउला नि । मलाई पनि सुख होला नि !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =