प्रेस काउन्सिलले बन्द गर्यो १०१ अनलाइन

काठमाडौं । प्रेस काउन्सिल नेपालले १ सय १ अनलाइनलाई बन्द गरेको छ । पत्रकार आचारसंहिता उल्लङ्घन गरेको भन्दै सरकारले उक्त अनलाइनहरुलाई बन्द गर्ने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषालका अनुसार १०१ वेबसाइटलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारवाही गरिएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले शुरु गरेको बन्दाबन्दी(लकडाउन)को अवधिमा मात्र प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी ७३ वटा उजुरी परेको बताइएको छ । उजुरी व्यक्तिगत तथा संस्थागत रुपमा चरित्र, मानसम्मान, मर्यादा, इज्जत, सार्वजनिक सरोकार, ठगी आदि विषयसँग सम्बन्धित रहेका छन्
प्रेस काउन्सिलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा छापा र विद्युतीय गरी २६५ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका थिए । छापामाध्यमविरुद्ध परेका ३५ उजुरीमध्ये १३ उजुरी फस्र्यौट भइसकेका छन् । काउन्सिलले गरेको स्वअनुगमनबाट १ सय ६३ समाचार आचारसंहिता उल्लङ्घनका थिए। ती सबै फस्र्यौट भएका छन् । त्यस्तै जनगुनासो मध्येका तीनवटा उजुरी पनि फस्र्यौट भएको बताइएको छ । लकडाउन सुरु भएको २०७६ चैत ११ देखि २०७७ असार ३१ गतेसम्मको अवधिमा छापा माध्यमविरुद्ध परेका १३ उजुरीमध्ये १० उजुरी फस्र्यौट भएका छन्। लकडाउनकै बेला गरिएको स्वअनुगमनमा ३९ समाचार सामग्री भेटिएकामा सबै फस्र्यौट गरिएका छन् ।
त्यस्तै यो वर्ष विद्युतीय माध्यमविरुद्ध १५७ उजुरी परेकामध्ये १२३ फस्र्यौट भएका छन् । स्वअनुगमनबाट ५ सय ५४ आचारसंहिता उल्लङ्घनका समाचार सामग्री भेटिएकेमा ५५१ वटाको फस्र्यौट भएका छन् त्यस्तै ९ जनगुनासोमध्ये ६ फस्र्यौट भएका छन् ।
लकडाउनकै अवधिमा विद्युतीय सञ्चारमाध्यमविरुद्ध ६० उजुरी परेका छन् । स्वअनुगमन गर्दा १३ आचारसंहिताविपरीतका समाचार सामग्री पाइएको छ । तीमध्ये ६१ फस्र्यौट भएका छन् । तीन विद्युतीय सञ्चारमाध्यमलाई यो वर्ष कालोसूचीमा राखिएको छ ।
काउन्सिलमा आउने उजुरीउपर कारवाही गर्ने मात्रै नभइ सहमति र मिलापत्रसमेत गर्ने गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए । काउन्सिलले कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी मिडिया सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको थियो ।
हालसम्म काउन्सिलमा २ हजार १ सय ३० सूचीकृत भएका छन् । त्यसैगरी विभिन्न अनलाइन सञ्चारमाध्यमबाट प्रवाह भएका २३ लाख ८७ हजार ५३९ सामग्री अभिलेख गरिएको छ । विभिन्न पत्रपत्रिकाका ३५ लाख पृष्ठ स्क्यान भएको छ ।
विभिन्न एफएम रेडियोबाट प्रसारित ३९ लाख पाँच हजार ४९० सामग्री क्लिप काउन्सिलले रेकर्ड गरी स्टोरेज गरेको छ । विसं २०७५ वैशाखदेखि हालसम्म ३२ च्यानल टिभीबाट मिडिया कन्टेन्ट अभिलेख भइरहेको छ । त्यसैगरी पत्रपत्रिका व्यवस्थापन प्रणालीमा आवद्ध ९ सय ७७ पत्रपत्रिका ७० हजार ८७ पिपिएफ सामग्री अभिलेख भएको छ ।








