कोरोनाले हरायो साउनको रौनकः हरियो चुरा र मेहन्दी लगाएनन् नारीले

धरान । साउन महिना भन्ने वित्तिकै हरियो चुरा र मेहन्दीको महिना भनेर चिनिन्छ । विषेश गरी साउनमा हिन्दुधर्मावलम्वी नारीहरुले लगाउने मेहन्दी र हरियो चुराको फरक महत्व भएपनि यसपटक मेहन्दी र हरियो चुरामा सजिएर शिवालय जाने नारीहरुको संख्या उल्लेख्य घटेको छ । विश्वब्यापीरुपमा फैलिइरहेको कोरोना भाइरसले गर्दा हिन्दु धर्मावलम्बी महिलाहरुले हरियो चुरा र मेहन्दी नलगाएका हुन् ।

साउन महिना सुरु भएको आज तेश्रो दिन हो । सुनसरीको धरानमा अन्य बर्षको तुलनामा यस बर्ष महिला दिदिबहिनीहरुले लगाउने हरियो चुरा र मेहेन्दीको व्यापारमा मन्दी आएको ब्यवसायीहरुको धारणा छ ।

साउन महिनामा हरियो चुरा लगाउने परम्पराकै कारण अघिल्लो वर्ष हरियो चुरा र मेहन्दीको व्यापारमा वृद्धि भएको भएपनि यसबर्ष कोरोनाको महामारीका कारण बजार पसलहरु लामो समयसम्म बन्द हुँदा र सार्वजनिक स्थलहरुमा भिडभाड गर्न नहुने भएकोले साउने सोमवार हरियो चुरा र मेहन्दी लगाएर ब्रत बस्ने महिलाहरु कमै देखिएको छ ।

जिल्ला सदरमुकाम ईनरुवा लगायत जिल्लाका प्रमुख बजारहरु धरान, ईटहरी, झुम्का, दुहवी, खनार, बराहक्षेत्र लगायत स्थानहरुका बजारहरुमा रहेका शृङ्गार पसलहरुमा भिडभाड छैन ।

अन्य महिनाको तुलनामा साउन महिनामा हरियो चुरा, मेहेन्दी र शृङ्गारिक सामानहरु राम्रो बिक्री हुने गरेको सिजन भएपनि बिक्रेताहरुको आफुले चाहेजतिको ब्यापारमा सन्तृष्ट हुन नसकेको धरान २ छाताचोकको रेश्मा खेलौना तथा कस्मेटिक्स पसलकि ममता शाहले बताईन ।

‘गत साउनमा हरीयो चुरा, मेहेन्दी र शृङ्गारिक सामानको ब्यापार जसरी भएको थियो, यो पटक भएको छैन । लकडाउनले हाम्रो व्यापार व्यवसाय नै धरासायी बनाइदियो ।’ उनले भनिन् । शाहका अनुसार यसपालि साउन महिनामा सबैखाले पुजापाठ हुने मन्दिरहरु समेत बन्द हुने भएकोले मेहन्दी र चुराको व्यापार खस्केको हो ।

‘पिण्डेश्वर बाबाधाम मन्दीरमा लाग्ने बोलबम मेला बन्द हुँदा हामीलाई सबै भन्दा ठूलो असर गर्यो । गतवर्ष यहि समयमा मेहन्दी र हरियो चुरा किन्नेहरुको भिड थामिनसक्नु हुन्थ्यो ।’ ममता भन्छिन् ।

धरान बजारमा श्रृङ्गार पसल सञ्चालन गर्दै आएकी रेश्मा शाहले गत बर्षको साउन १ गते एकै दिनमा १० हजारको आम्दानी भएको बताउँदै यसपालि बजारमा ग्राहक कुरेर बस्नुको बिकल्प नरहेको बताईन् । ‘पोहोर एकै दिन १० हजारको व्यापार भएको थियो, यसपाली त दिनभर पसल खोल्नु मात्र पर्यो, विक्रि नै छैन ।’

उनले बर्षभर खासै व्यापार नभएपनि साउन महिनामा राम्रो आम्दानी होला भनेर आश गरेपनि कोरोनाको लकडाउनले व्यवसाय चौपट भएको बताइन् ।

अन्य बर्ष साउन महिनाभर हरियो चुरा र हरियै लुगा विशेष पोशाक हुने गरेकोमा यसपटक महिलाहरुले हरिया पोशाक कमै लगाएका छन् । धरान उसै त फेसनेवल शहर त्यसमाथि धरानका युवायुवतीहरुलाई साउनमा हरियो र पहेलो पहिरन नलगाई बस्ने कुरै हुँदैनथ्यो । तर, यसपटक कमैले यस्ता पहिरन खरिद गरेका छन् ।

धरानमा स्कुल कलेज पढ्ने छात्राहरुले समेत नाडीभरि हरियो र पहेलो रङगको चुरा लगाउँथे, हातभरी मेहेन्दी लगाउँथे । यसपटक मुस्किलले दिनमा दुई चा जनामात्र मेहन्दी लगाउन आउने गरेको व्यापारीको भनाई छ । मेहन्दीको रंग जति गाढा बस्यो उति नै श्रीमानको माया पाइन्छ भन्ने विश्वास थियो, यसपटक त कोरोनाले नारीहरुको हातमा मेहन्दीको रंग नै बस्न पाएको छैन ।

कोरोनाले आम नेपालीलाई घरभित्रै राखेसँगै भारतीय बजारबाट यस्ता सामग्रीहरु पनि कमै आयात भएका छन् । लामो समयसम्म पसलहरु बन्द हुँदा व्यापारीहरुले पनि यस्ता वस्तुहरु आयात गर्न सकेका छैनन् । हरेक वर्ष साउनमा मात्रै पूर्वि तराइका जिल्लाहरूमा साउनमा कराेडाैंका कस्मेटिक्स तथा श्रृङ्गारका सामग्री विक्रि हुने गर्दथ्याे । तराइका विभिन्न स्थानमा साप्ताहिक रूपमा लाग्ने हाट बजार समेत बन्द भएकाले यस पटककाे साउन खल्लाे र उदास भएकाे छ ।

नेपाली बजारमा अधिकांश चुरा, पाेते र मेहन्दी तथा श्रृङ्गारका सामानहरू भारतीय बजारबाट आयात हुने गरेको छ । धरानमा यसपालिको साउन महिनामा हरियो चुरा र मेहन्दीका कारोबारका साथै ब्यापार ब्यवसाय चौपट भएको छ ।

तस्विरः भरतराज शर्मा (गाेपाल)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *