साउन ४ देखि कार्यकक्ष अगाडी धर्ना बस्दै नेपाल टेलिकमका कर्मचारीहरू

काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का कर्मचारीहरु साउन ४ गतदेखि धर्नामा बस्ने भएका छन् ।
संविधान प्रदत्त अधिकारको प्रयोग गरी स्थापित ट्रेड युनियनहरुसँग सहकार्य र संवाद विना कम्पनी व्यवस्थापन स्वेच्छाचारी रुपमा अगाडी बढेको आरोप लगाउँदै कर्मचारीहरु साउन ४ गतेदेखि ९ गतेसम्म कार्यकक्ष अगाडी धर्ना बस्ने भएका हुन् ।
४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म, ५ गते १० बजेदेखि २ बजेसम्म, ६ गते ३ बजेसम्म र दैनिक एक–एक घण्टाका दरले बढाएर साउन ९ गते १० बजेदेखि ५ बजेसम्म धर्ना बस्ने भएका हुन् ।
९ गतेसम्म पनि माग पुरा नभए थप संघर्षका कार्यक्रमहरु गर्ने चेतावनी समेत कर्मचारीहरूले दिएका छन् । विगतमा आधिकारीक ट्रेड युनियहरुसँग भएका सम्झौताहरु तथा अदालतका फैसलाहरु कार्यान्वयन गर्न पटक–पटक गरेका ध्यानाकर्षणप्रति कम्पनी व्यवस्थापन उदासिन रहेकोले श्रम ऐनको उपयोग गर्दै संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य भएको उनीहरुको भनाइ छ ।








