गणेश थापालाई पत्रकारमाथि दुर्व्यहार गरेको आरोप, थापा भन्छन् ‘मलाई चिढ्याउने काम भयो’

काठमाडौं । अखिल नेपाल फुटवल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले पत्रकार माथि दुर्व्यहार गरेको आरोप लागेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले गणेश थापामाथि हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनामाथि गाली गलौज अभद्र व्यवहार गरेको आरोप लगाएको हो ।

मञ्चले आज एक विज्ञप्ति जारी गर्दै पत्रकार तिमल्सिनालाई टेलिफोन संवादका क्रममा गणेश थापाले अभद्र व्यवहार गरेको जिकिर गर्दै भत्सर्ना गरेको छ । पत्रकार तिमल्सिनाले बिहिबार एन्फा पूर्व अध्यक्ष थापालाई समाचारका लागि टेलिफोन संवाद गर्दा वार्ताको क्रममा थापाले गालीगलौज र अभद्र व्यवहार गरेको भनिएको छ ।

मञ्चका महासचिव प्रज्वल ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘नितान्त समाचार संकलनका लागि गरिएको फोन वार्तालाई लिएर पत्रकार तिमल्सिना माथि गरिएको अभद्र व्यवहारको जति निन्दा गरेपनि पुग्दैन’ थापाका छोरा अभिषेकले तिमल्सिनासँग हाम्रो खेलकुदको थापाथली स्थित कार्यालय परिसरमै गएर वादविवाद गर्ने काम समेत गरेको पत्रकार तिमल्सिनाको भनाई छ ।

नितान्त समाचार संकलनका लागि गरिएको फोन वार्तालाई लिएर पत्रकार तिमल्सिनामाथि गरिएको अभद्र व्यवहारको जति निन्दा गरेपनि नपुग्ने मञ्चले विज्ञप्तीमार्फत उल्लेख गरेको छ । मञ्च आफ्ना सदस्यप्रति गरिएको यस अभद्र ब्यवहारको घोर भर्त्सना र निन्दा गरेको छ ।

यता एन्फा पूर्व अध्यक्ष थापाले सामाजिक सञ्जालमा आफुले पत्रकार तिमल्सिनालाई कुनैपनि प्रकारको अभद्र व्यवहार नगरेको जिकिर गरेका छन् । मञ्चले विज्ञप्ति नै प्रकाशित गरेपछि थापाले फेसवुकमा स्टाटस राख्दै उक्त दिन आफुले कुनैपनि विषयमा कुरा गर्न नचाहेको बताउँदा बताउँदै पत्रकार तिमल्सिनाले आफुलाई चिढ्याएको बताएका छन् ।

खेलकुद पत्रकार मञ्चको वक्तव्य प्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै थापाले लेखेका छन् ‘प्रकाश तिमिल्सिना भाईले मलाई प्रतिक्रिया लिनको निमित्त फोन गर्नुभएको थियो । कुनै प्रतिक्रिया दिन्न भनेर दुईपटक सम्म भनेको थिए किनभने उहाँहरु एक तर्फीरुपमा समाचारहरु दिँदै आउनुभएको छ भन्ने लागेको कारणले मैले कुनै किसिमको प्रतिक्रिया दिन उपयुक्त ठानिन । यति भनिसके पछाडि उहाँले फोन राख्नु पर्दथ्यो तर उहाँ मलाई provoke गर्नतिर लाग्नु भयो ।’

थापाले त्यसपछि वाद विवाद बढ्दै गएको स्विकार गर्दै पत्रकार तिमल्सिनाले ‘म कुनै किसिमको प्रतिक्रिया दिन्न’ भनेपछि फोन राखेको भए कुनै वादविवाद नहुने बताएका छन् ।

पत्रकार तिमल्सिनाले ‘एन्फामा भएको ठूलाठूला भ्रष्टाचारको समाचार नदिने खाली मलाई मात्र भ्रम सृजना गर्ने खालको समाचार दिने’ भनेपछि बिस्तारै विबाद बढ्दै गएको थापाको भनाई छ । ‘म आफैं ठूलो अप्रेसन गरेर आराम गरेर बसेको अवस्थामा यस किसिमको तनाव र विवाद प्रकाश तिमल्सिनाले गर्नुपनि मानवीय दृष्टिकोणले पनि उपयुक्त होइन भन्ने लाग्दछ जबकि प्रकाश तिमल्सिनालाई मेरो स्वास्थ्यको बारेमा राम्ररी जानकारी छ ।’ थापाले भनेका छन् ।

पूर्व एन्फा अध्यक्ष थापाका अनुसार वाद विवाद बढ्दै गएपछि मलाई सन्चो नभएपछि मेरो श्रीमतीले फोन लिएर उहाँलाई मेरो श्रीमानलाई तलमाथि भयो भने यसको जिम्मेवार तपाईले लिनुपर्छ भनिएको चाहिँ विज्ञप्तिमा उल्लेख नै नभएको बताएका छन् । ‘त्यस पछाडि मेरो श्रीमतीले छोरा अभिषेकलाई फोन गरेर बुवालाई सन्चो भएन प्रकाश तिमिल्सिनाले ठूलो तनाव दियो भनेपछि अभिषेक थापाले प्रकाश लाई फोन गरेको हो ।’ थापाको तर्क छ ।

यस पछाडि हिजो बेलुका नै प्रकाश तिमिल्सिना र अभिषेक थापा लगायत अन्य पत्रकारहरुको बिचमा बसेर दुबै जनाले आत्मा आलोचना गरेको पनि थापाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *