नेपाल रेडक्रस र कोका–कोलाद्वारा सात सय बढी स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री वितरण

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी र साथ आफ्नो कोका-कोला नेपालले कोभिड-१९ महामारीका बाबजुद सक्रियताका खटिरहेका स्वास्थ्यकर्मी र स्वयंसेवकहरुकाे सुरक्षा र भलाई सुनिश्चित गर्न निरन्तर सुरक्षा सामग्रीहरु वितरण गर्दै आइरहेको छ ।
कोभिड-१९ को फैलावटलाई कम गर्न अग्रपंक्तिमा समर्पित रहेर काम गरिरहेका रेडक्रस एम्बुलेन्सका सवारी चालकहरु, रक्तसञ्चार सेवाका प्राविधिकहरु तथा क्वारेन्टिनमा खट्ने स्वयंसेवाहरुको लागि एन नाइन्टि फाइभ मास्क, सुरक्षा बुट र स्यानिटाइजर जस्ता व्यक्तिगत सुरक्षा सामग्रीहरु वितरण गरिएको छ ।
रेडक्रस र काेकाेकाेलाले असार १७ गतेबाट शुरु गरेकाे सो वितरण कार्यक्रमको लक्ष्य देशभरका सबै लक्षित स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरुमाझ पुगेर उनीहरुको सुरक्षा अभिवृद्धि गर्नु हो । हालसम्म, सुदुरपश्चिमका केहि जिल्ला र प्रदेश १ बाहेक देशभरका सबै जिल्लाका रेडक्रसका अधिकारीहरुलाई सुरक्षा साम्रगीहरु हस्तान्तरण गरिसकेको छ । सबै जिल्लाहरुमा वितरण कार्यक्रम यहि साताभित्र सम्पन्न हुँदैछ ।
नेपाल रेडक्रसका निर्देशक दिव्यराज पौडेलले भने, ‘कोका-कोला नेपालसँगको यो साझेदारीले रक्त सञ्चार सेवाका ४०० प्राविधिकहरु र स्वास्थ्य कर्मचारीहरु र २४७ एम्बुलेन्स चालकहरुको मनोबल र सुरक्षा बढाउन मद्दत गरेको छ । साथै, यसले स्वास्थ्य, सरसफाई, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथा क्वारेन्टिन सहयोगमा खटिइरहेका रेडक्रसका स्वयंसेवकलाई पनि प्रोत्साहित गरेको छ ।’
त्यसैगरी कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘हामी हाम्रा एम्बुलेन्स चालकहरु, रक्त सञ्चार सेवाका प्राविधिकहरु र स्वयंसेवकहरुलाई आभार प्रकट गर्न चाहन्छौँ जसले यस्तो चुनौतीपूर्ण समयमा पनि निष्ठाका साथ आफ्नो कर्तव्य पूरा गरिरहेका छन् । हाम्रो पार्टनर नेपाल रेडक्रस सोसाइटीका साथ अग्रपतिंमा रहेका सम्पूर्णको स्वास्थ्य र सुरक्षामा सहयोग गर्न सुरक्षा सामग्रीहरु प्रदान गरिरहँदा हामी खुसी छौँ ।’








