सुदूरपश्चिमका १६ सयबढी संक्रमित निको भएर घर फर्किए

काठमाडौं । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएका आइसोलेसनबाट १६ सय बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म १ हजार ६ सय ५९ कोरोना संक्रमित डिस्चार्ज भएका हुन् ।

बिहिवार मात्रै अछामका ४५, कैलालीको टीकापुर अस्पतालबाट ८ जना र कञ्चनपुरबाट चार जना गरी ५७ जनालाई विभिन्न अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म सबैभन्दा बढि कञ्चनपुरका तीन सय ९०, अछामका तीन सय ६२, डडेल्धुराका दुई सय ६७ र बैतडीका दुई सय ५२ जनााई डिस्चार्ज गरिएको छ । डोटीका एक सय ५७, कैलालीका एक सय २९, बझाङबाट ८७, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका ४९ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकी दुई हजार दुई सय बढिको स्थानीय तहको आइसोलेसनमा उपचार भइरहेको हो । महाकाली अस्पतालमा १८, टीकापुर अस्पतालमा १३, जिल्ला अस्पताल अछाममा १०, मालाखेती अस्पताल र सेती अस्पताल तीन-तीन तथा र डोटी अस्पतालमा दुई जना गरी ४९ जनाको उपचार भइरहेको छ ।

सुदूरपश्चिममा ८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *