अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक हैन : परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे स्पष्टीकरण दिएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको स्पष्ट पारेको हो । ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशय थिएन’ विज्ञप्तिमा भनिएको छ ।

आइतबार प्रधानमन्त्री ओलीले भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्ज नजिकै ठोरीमा पर्ने दाबी गर्दै अभिव्यक्ति दिएका थिए ।  प्रधानमन्त्रीले श्रीराम र उहाँसँग सम्बद्ध स्थानबारे धेरै किंवदन्ती रहेको र नयाँ तथ्यहरू प्राप्त गर्न रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन, अनुसन्धानको महत्वमाथि जोड मात्र दिएको परराष्ट्रले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको टिप्पणीले अयोध्याको महत्व र सांस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य राखेको छैन ।’

यस्तै परराष्ट्र मन्त्रालयले प्रत्येक वर्ष विवाह पञ्चमीमा भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने गरेको बताउँदै २०१८ मा दुई देशका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गरेको स्पष्ट पारेको छ । मन्त्रालयले ती तथ्यहरूले दुई देश र जनताबिचको सांस्कृतिक समानतालाई सङ्केत गर्ने बताएको छ ।

यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती समारोहमा व्यक्त गरेका विचारहरूलाई लिएर विभिन्न किसिमका भ्रमहरूप्रति सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले स्पष्ट पारेका तीन कुरा :
–प्रधानमन्त्रीको टिप्पणी कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावना र संवेदनालाई चोट पुर्‍याउने आशय राखिएको थिएन ।
– श्रीराम र उहाँसँग सम्बद्ध स्थानहरूका बारेमा धेरै किंवदन्ती र भनाइहरू छन् । प्रधानमन्त्रीले श्रीराम र उहाँसँग जोडिएका विभिन्न स्थानहरूका बारे नयाँ तथ्यहरू प्राप्त गर्न रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन र अनुसन्धानको महत्वमाथि सामान्य जोड दिनुभएको हो ।

– टिप्पणीले अयोध्याको महत्व र सांस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य राखेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =