आयुर्वेद औषधी ओझेलमा, प्रचार प्रसारमा जोड

चितवन । उपचार प्रभावकारी हुने भएपनि आयुर्वेदतर्फ खासै ध्यान जान सकेको छैन । एलोपेथिक औषधीले मात्रै रोग निको हुने भन्दै आयुर्वेद चासोमा नपरेको हो । तर आयुर्वेद उपचार मार्फत् पनि रोग निको हुने भएकाले यसको प्रचार-प्रसार गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले मंगलबार आयोजना गरेको आयुर्वेदको विकास सम्भावना र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा बागमती प्रदेश सभाका शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहालले आर्यूवेद उपचारमा चेतना विस्तार आवश्यक रहेको वताए । आयुर्वेदिक औषधीको प्रयोगमा सञ्चारकर्मी, जनप्रतिनिधिहरु र यसमा संलग्नहरुले प्रचार-प्रसार गर्नुपर्ने चितवनबाट निर्वाचित प्रदेश सभा सदस्य समेत रहेका दाहालले जोड दिए ।

प्रदेश सभा सदस्य विजय सुवेदीले कृतिम औषधीले स्वास्थ्यमा असर गर्ने भएकाले यहाँका महत्वपूर्ण जडीबुटीको प्रयोग गर्दै प्रचार प्रसार गर्नुपर्ने औंल्याए । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले आर्यूवेदिक उपचारलाई सहयोग गर्नकै लागि सार्वजनिक जमिनमा जडीवुटी रोप्न लागिएको बताए ।

कार्यक्रममा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर कोपिला अधिकारीले केन्द्रमा दैनिक ८०/९० जना बिरामी उपचारका लागि आउने गरेपनि भौतिक संरचना, पर्याप्त दरबन्दी हुन नसकेको डाक्टर अधिकारीले बताइन् । ल्याब र एक्सरे मेसिन समेत नहुँदा बिरामीलाई समस्या पर्ने गरेको अधिकारीले बताइन् ।

सो केन्द्रमा अम्लपित्त, कब्जियत, अतिसार, मधुमेह, उच्च रक्तचाप, स्त्रीरोग, दम खोकी, स्वासप्रस्वास सम्बन्धी उपचार हुँदै आएको छ । हाल ओपिडी मार्फत् मात्र उपचार सेवा दिँदै आएपनि बिरामी भर्ना गरेर उपचार गर्न नसकिएको केन्द्रका कविराज निरीक्षक डाक्टर देवेन्द्रकुमार यादवले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =