‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिले नेपाली राजनीतिलाई तरंगित मात्रै बनाएको छैन सामाजिक सञ्जालसमेत तताएको छ । ‘अयोध्या नेपालमै रहेको र राम नेपाली थिए’ भन्ने प्रधानमन्त्रीको दाबी गरेपछि राजनीतिक वृतबाटै यसको विरोध भयो । विज्ञ र जनसरोकारका विषयमा चासो राख्नेहरुदेखि आम नागरिक तहमासमेत अभिव्यक्तिलाई लिएर समर्थन र आलोचना भइरहेको छ ।

सीमा विवादका कारण छिमेकी भारतसँगको सम्बन्ध चिसिएको बेला उनको पछिल्लो टिप्पणीले दुई देशको सम्बन्ध सुधार्नमा सघाउ नपुग्ने भन्दै कतिपयले चिन्तासमेत व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा थोरैले मात्र उनको टिप्पणीको समर्थन गरेको पनि देखिन्छ भने केहीले प्रधानमन्त्रीको भनाइप्रति व्यङ्ग्य पनि गरेका छन् ।

टिप्पणी गर्नेहरूमा सामाजिक सञ्जालका नियमित प्रयोगकर्ताहरूका साथै विभिन्न पेशाकर्मी लेखक, पत्रकार र राजनीतिक कार्यकर्ताहरू छन् । कतिपयले उनको यस्तो अभिव्यक्तिलाई ‘उटपट्याङ’, ‘अपरिपक्व’ ‘कमेडी’ भनेका छन् ।

कसले के भने ?
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्यङ्ग्य गर्दै ट्वीट गरेका छन्, ‘आधी-कवि ओलीकृत कलियुगीन नयाँ रामायण श्रवण गरौँ ! सिधै वैकुण्ठधामको यात्रा गरौँ !’

 पूर्वउपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले ओलीको अभिव्यक्तिले २ देशबीचको सम्बन्धमा अनावश्यक तनाव बढाउने टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्रीले उटपट्याङ, अपुष्ट, अप्रमाणित कुरा गरेको बताएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अङ्ग्रेजीमा ट्विट गर्दै लेखेका छन्: ‘धर्म राजनीति र कूटनीतिभन्दा माथि छ । यो निकै भावनात्मक विषय हो। बेतुकका अभिव्यक्तिले लज्जित मात्र बनाउँछ। अयोध्या वीरगञ्ज नजिकै भए सरायु नदी कहाँ छ ?’

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार भएर काम गरिसकेका डा. कुन्दन अर्यालले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आश्चर्यता प्रकट गर्दै ‘प्रधानमन्त्रीले भारतीय टिभी च्यानलसँग प्रतिस्पर्धा गर्न खोजेको हो ?’ भनेर प्रश्न गरेका छन् ।

नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले समेत ओलीबाट ‘एकपछि अर्को’ यस्तो अभिव्यक्ति आउनु ‘रहस्यमय’ रहेको ट्विट गरेका छन् । उनले भनेका छन् ‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ ।अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो ।’

सेतोपाटीका प्रधान सम्पादक अमित ढकालले ‘श्रीलंका टापू कोशीमा छँदैछ । छेवैमा हनुमान नगर पनि छ, वानर सेनाले पुल हाल्दा बसालेको१’ भन्दै व्यङ्ग्य गरेका छन् ।

ओलीले के भनेका थिए ?
सामाजिक सञ्जालमा निकै फैलिएको ओलीको सम्बोधनको अंशमा उनले रामायणमा उल्लेख भएको देश अयोध्याबारे विभिन्न दाबीहरू गरेका छन् ।

‘हामी अहिले पनि ठानिरहेका छौँ हामीले भारतका राजकुमार रामलाई सीता दियौँ । भारतका हैन अयोध्याका रामलाई सीता दिएका हौँ । अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन,’ उनले भनेका छन् ।

याे पनि प्रधानमन्त्री ओलीको तर्कः अयोध्या भारतमा हैन वीरगञ्जमा पर्छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 18 =