प्रधानमन्त्री ओलीको तर्कः अयोध्या भारतमा हैन वीरगञ्जमा पर्छ

काठमाडौं । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको समेत जिकिर गरेका छन् ।

भानु जयन्तीका अवसरमार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने–‘हामी अहिले पनि ठानिरहेका छौं, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौं । भारतका होइन, अयोध्याका रामलाई दिएका हौं हामीले । अयोध्या भनेको वीरगञ्ज भन्दा पश्चिमपट्टीको गाउँ हो ।’

ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको दावि गरेका छन् । ‘अहिले खडा गरिएको अयोध्या होइन । अयोध्यामा भीषण विवाद छ त्यहाँ’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीका अनुसार अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीको भएको समेत तर्क गरेका छन् । ‘(दशरथका) सन्तान (राम) पनि भारतीयका हुँदै होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन । ठाउँ पनि नेपालको हो ।’ उनले नेपाल भारतबाट सांस्कृतिक हिसाबले समेत थिचिएको बताए ।

उनले अयोध्या भारतले दाबी गरेको ठाउँमा भएको भए त्यहाँका राजा विवाह गर्न जनकपुर कसरी आइपुगे भनेर प्रश्न गरेका छन् । ‘त्यसबेला न टेलिफोन न मोबाइल कताबाट थाहा होस्, थाहा हुन सम्भव थिएन । नजिकै खोजिन्थ्यो र बिहे भइहाल्थ्यो ।’

प्रधानमन्त्रीले भने–‘रामले सीतालाई अयोध्याबाट त्यत्रो दिन लगाएर वाल्मिकी आश्रममा छोडेको होइन । जंगलमा यसो परतिर लगेर छोडिदिनु भनेको ठाउँमा लक्ष्मण भाउजु लिएर महिनौं हराएका होइनन् । खुर्रर वाल्मिकी आश्रम पुर्याइदिए, फर्किए ।’ प्रधानमन्त्रीले राम नेपालको भनेर आफुले तर्क गर्दा विर्वानहरुले आफुमाथि हमला गर्न सक्ने समेत बताएका छन् ।

साे अवसरमा प्रधानमन्त्रीले मदन भण्डारी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित स्मारिका समेत विमाेचन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *