भानु जयन्तीको अवसरमा एक दर्जन बढी श्रष्टा सम्मानित

विराटनगर । २०७ औं भानु जयन्तीको अवसरमा १ नम्बर प्रदेश सरकारले एक दर्जन बढी श्रष्टाहरुलाई सम्मान गरेको छ ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा सोमबार बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित भएका हुन् । एक लाख राशीको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट इलामका श्रष्टा डा. नवलकिशोर राई सम्मानित भएका छन् । उनले पाएको सम्मान वापत प्राप्त गरेको राशी मध्ये ५० हजार आरोहण गुरुकुल र ५० हजार कोरोना उपचार कोषलाई हस्तान्तरण गरेका छन् ।
ललितकला तर्फ मोरङकी अनुराधा थापा, साहित्य तर्फ धनकुटाका उमानाथ घिमिरे ‘सागर’, मोरङका कविराज पोखरेल, झापाका मुनाराज शेर्मा, खोटाङकी पञ्चकुमारी परियार, पाँचथरका प्रेम ओझा, सुनसरीका शिवनारायण पण्डित ‘सिंगल सम्मानित भएका छन् । त्यसैगरी साहित्य र कला तर्फ सोलुका डीवी किराँती, रंगकला तर्फ झापाकी कविता नेपाल, चलचित्रकर्मी तर्फ मोरङका केशव रायमाझी, नृत्यकला तर्फ मोरङकी मायाँ पौडेल र गित/संगीत तर्फ माेरङकै वीरध्वज शिवा–मोरङ सम्मानित भएका छन् ।
श्रष्टाहरुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमायाँ गजमेर, श्रष्टा मूल्यांकन सिफारिस कार्यदलका संयोजक प्राज्ञ खेम नेपालीले सम्मानित गरेका थिए ।
सम्मानितहरुलाई जनही ५०–५० हजार नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य कला क्षेत्रमा विशिष्ट योगदान पुर्याउने श्रष्टाहरुलाई गतवर्षदेखि सम्मान शुरु गरेको हो ।








