मह उत्पादक किसानलाई प्रोत्साहनः एकै जनाले पाए ६० हजार

चितवन । चितवनमा पहिलो पटक मह उत्पादक किसानलाई प्रतिफलमा आधारित प्रोत्साहन स्वरुप ३० लाख रुपैयाँ वितरण गरिँदै छ । मौरी जोन संचालन गरेका स्थानीय तहका मह उत्पादक किसानहरुलाई उत्पादनमा वृद्धी गराउने उद्देश्यका साथ प्रोत्साहन रकम प्रदान गरिएको हो ।
जोन लागू भएको कालिका नगरपालिका र खैरहनी नगरपालिकाका किसानहरुले प्रोत्साहन रकम बुझिसकेका छन् भने राप्ती नगरपालिका र राक्सिराङ गाउँपालिकाका किसानहरुलाई सोमबार वितरण गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सीनाले जानकारी दिए । यी चार पालिकाका किसानले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसको २० प्रतिशत रकम मौरी जोन संचालक समितिको खातामा रहने तिमल्सीनाले बताए ।

आइतबार खैरहनी नगरपालिका-४ मा एक कार्यक्रमको आयोजना गरि यहाँका किसानहरुलाई प्रतिफलमा आधारित प्रोत्साहन रकम वितरण गरिएको छ । १६ जना मह उत्पादक किसानलाई ४ लाख १३ हजार ६ सय रुपैयाँ चेक मार्फत् प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका खैरहनी ४ का वडाध्यक्ष देवबहादुर बस्नेत, परियोजनाका प्रमुख तिमल्सीनाले माला लगाई चेक हस्तान्तरण गरेका थिए । सो क्रममा एउटै किसानले ६० हजारसम्म रकम प्राप्त गरेका छन् ।
खैरहनी ४ का सुरेश बस्नेतले १५० घार मौरीबाट उत्पादन गरेका महका आधारमा उनलाई ६० हजार रुपैयाँ प्रदान गरिएको हो । पहिलो पटक मह उत्पादनकै कारण प्रोत्साहन रकम पाएकोमा किसान बस्नेतले खुसी व्यक्त गरे । ‘अन्य स-साना मेसिनमा अनुदान पाएको थिएँ । प्रतिफलकै आधारमा पहिलो पटक रकम पाउँदा खुशी लागेको छ’, किसान बस्नेतले भने ।
मौरी जोन लागू भएर सुचिकृत भई ४२.३ किलो मह प्रतिघार प्रतिवर्ष उत्पादन गरेका किसानहरुलाई मात्रै सम्मान सहित प्रोत्साहन रकम प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका प्रमुख तिमल्सीनाले बताए ।
मौरी जोन संचालक समितिका अध्यक्ष धर्मराज लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मौरीपालक महासंघका अध्यक्ष शिव शर्मा पौडेल,परियोजनाका कृषि अधिकृतहरु इन्द्र ढुंगाना, अनिल तिवारी लगायतले मन्तव्य राखेका थिए ।








