शेफिल्डसँग चेल्सीको हार, ला लिगामा बार्सिलोनाको साँघुरो जित

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी पराजित भएको छ । गएराती सम्पन्न खेलमा चेल्सी शेफिल्ड युनाइटेडसँग ३–० गोल अन्तरले पराजित भएसँगै च्याम्पियन्स लिगमा छनौट हुने अभियानमा ठुलो धक्का लागेको छ ।

शेफिल्डको जितमा डेभिड म्याकगोल्ड्रीकले २ गोल गरेका थिए भने ओली म्याकब्रुनेले एक गोल गरेका थिए । यो हारपछि चेल्सीको आउदो सिजनमा च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना कम भएको छ ।

अब चेल्सीको लिगमा ३५ खेलपछि ६० अंक रहेको छ भने लेस्टर सिटी को ३४ खेलमा ५९ र म्यानचेस्टर युनाइटेडको ३४ खेलमा ५८ अंक रहेको छ । दुवैले आआफ्नो आउदो खेल जितेमा चेल्सी तेस्रो स्थानबाट पाँचौं स्थानमा पुग्ने छ ।

त्यस्तै चेल्सीमाथि शानदार जित हासिल गरेको शेफिल्ड भने ३५ खेलमा ५४ अंक हासिल गर्दै लिगको छैठौ स्थानमा उक्लिएको छ ।

त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ५–० गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा रहीम स्टरलिङले ह्याट्रिक गरेका छन् भने गाब्रियल जिसस र बेर्नार्डो सिल्भाले एक एक गोल गरेका थिए । यो जितपछि सिटीको ३५ खेलमा ७२ अंक भएको छ भने ब्राइटनको ३५ खेलपछि ३६ अंक रहेको छ र लिगमा १५औ स्थानमा रहेको छ ।

बार्सिलोनाको साँघुरो जित
बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा साँघुरो जित निकालेको छ । गए राति भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथी १–० गोलको साँघुरो जित निकालेको हो ।

भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल आर्थुर भिडालले गरे । भिडालले खेलको १५ औं मिनेटमा गोल गर्दै बार्सिलोनामा अग्रता दिलाए । उनले कप्तान लियोनल मेस्सीको पासमा गोल गर्दै पहिलो हाफमा १–० गोलको अग्रता दिलाएका थिए ।

यस जितसँगै बार्सिलोनाले उपाधि यात्रालाई कायमै राखेको छ । ३६ खेल खेलेको बार्सिलोनाको दोस्रो स्थानमा ७९ अंक छ भने एक खेल कम खेलेको रियलको ८० अंक छ । त्यस्तै पराजित भालाडोलिडको ३९ अंकसहित तालिकाको १४ औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 12 =