४ सय पर्ने विरयानी रोयलमा सय रुपैयाँमाः सञ्चालक भन्छन्–व्यापारसँगै सेवा

- सुजाता लिम्बु
विराटनगर । औधोगीक, व्यापारीक केन्द्रको रुपमा परिचित १ नम्बर प्रदेशको राजधानी विराटनगरको परीचय यहाँको रहनसहन र खानाले पनि दिन्छ । मुस्लिम धर्मावलम्बीहरुको मुख्य परिकार मानिने विरयानीकाे पनि यहाँ छुट्टै चर्चा हुन्छ ।
पछिल्लो समय चामल र मासु मिसाएर बनाइने विरयानीमा अन्य समुदाय पनि माेहित छन् । विराटनगरमा रोयल विरयानी हाउस विरयानीका लागि चर्चित छ । विदेशमा सिकेको शिपलाई स्वदेशमा नै सदुपयोग गर्ने उद्देश्यले ४ महिना अगाडी चार जना युवाले रोयल विरयानी हाउस सञ्चालनमा ल्याएका हुन् ।
कमल श्रेष्ठ, अमिर लिम्बु, यासिल घिमिरे लामो समय रोजीरोटीका लागि परदेशिएका थिए । उनीहरु तीनै जना साउदी अरबको विभिन्न क्षेत्रमा रहेर होटल व्यवसाय क्षेत्रमा काम गर्दै आईरहेका थिए भने पप्पु अनसारी शैक्षिक क्षेत्रमा कार्यरत थिए । चारै जनाको भेट विराटनगरमा भएको थियो ।
विदेशी शिपलाई नेपालमा नै सदुपयाग गर्ने कमल, अमिर, यासिलको प्रस्ताव मन परेकाले आफूले पनि साथीहरुलाई साथ दिएको पप्पु अनसारी बताउँछन् । विरयानी हाउस संचालनमा आएको केही समय पश्चात सरकारले लकडाउनको घोषणा गरेसँगै विरयानी हाउस बन्द भएको उनले सुनाए ।
बन्दाबन्दीको समयमा पसल बन्द गर्नुभन्दा पनि सडक पेटीमा भोकाएका मानिसलाई निःशुल्क खाना खुवाउने अभियान टिमसँग विरयानी हाउसमा नै खाना पकाएर ८० दिनसम्म खाना खुवाएको उनले बताए । व्यवसाय बन्द भएपनि ८० दिनसम्म भोका पेट भएकाले पेटभर साँझ-बिहान खाना खुवाउन पाउँदा मन आनन्द भएको उनकाे भनाइ छ ।
सय रुपैयाँमा विरयानी
विराटनगरस्थित ट्राफिक चोकमा रहेको विरयानी हाउसमा विरयानी खानकै लागि विराटनगर– १० का रुपेश शाह सधैँ आउने गरेको बताउँछन् । उनी भन्छन्, ‘अन्य स्थानमा भन्दा यहाँ विरयानीको स्वाद घरेलु छ । मिठाे छ । त्यसैले आइरहन्छु ।’
त्यस्तै विराटनगर– ११ की दिपा दर्नाल विरयानी खानकै लागि रोयल बिरयानी हाउस आँउछिन् । सय रुपैयाँमा नै पाइने भएपछि कहिले खाजाको रुपमा त कहिले खानाको रुपमा विरयानी खाने गरेको उनले बताइन् । उनले भनिन्, ‘विरयानी ईदमा मात्रै खाएकी थिएँ । आजभाेलि भने दैनिक जस्तो खोन गर्छु ।’
व्यापारसँगै सेवा
रोयल विरयानी हाउसका सञ्चालक सेवा दिने हिसाबले सस्ताेमा विरयानी बिक्री गरेकाे बताउँछन् । सञ्चालक पप्पु अनसारी भन्छन्, ‘व्यापारसँगै ग्राहकहरुलाई सेवा पनि दिएका हाैँ । हामीले सबै वर्गका मानिसको भोको पेट भर्नुपर्छ भन्ने उद्देश्यले फाईदा भन्दा पनि धेरै सेवाको भावले काम सुरू गरेका हाैँ ।’








