लार्चामा पहिरोमा पुरिएर एक जनाकाे मृत्यु, १४ घर विस्थापित

- राेसन दानी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर -३ लार्चा फुँमाछेमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । बिहान ६ बजे भैरव कुण्ड र फुँङमाछेबाट आएको खोलाको बाढीसँगै आएको पहिरोमा परि एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही स्थानका ५७ वर्षिय नाङ्चे मगर रहेको भोटेकोशी गाउँपालिका वडा-३ का अध्यक्ष कैलाश पौडेलले पुष्टि गरे । वडाध्यक्ष पौडेलका अनुसार उनको शव पहिरोले लगेको कारण भेटिएको छैन । भोटेकोशी गाउँपालिका वडा ३ लार्चाका स्थानीय गोविन्द शेर्पाले पहिरोका कारण स्थानिय सुनिल शेर्पा, लोर्के तामाङ सहित तीन जना घाइते भएको बताए ।
उक्त क्षेत्रमा १४ घर विस्थापित भएको छ । पहिरो र बाढीका कारण ८ वटा घर बगाईसकेका छन् भने ६ वटा घर बगाउने अवस्थामा छन् । त्यस्तै पहिरोकै कारण भोटेकोशी गाउँपालिका वडा नम्बर ३ ढुगुना गडीमा क्षति पुगेकाे छ ।
पहिरोले १० घरहरू जोखिममा परेपछि सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । पानी परिरहको कारण र ठाउँ ठाउँमा पहिरो गएका कारण घटना स्थलमा प्रहरी पुग्न सकिरहेको छैन । त्यस स्थानमा दुई ठाउँमा पहिरो गएपछि स्थानीयहरू बिचमा फसेका छन् भने केहिलाई उद्धार गरि ड्राईपोटमा राखिएकाे छ ।
पानी पर्न कम भएपछि बाँकीको उद्धार गरिने वडाध्यक्ष पौडेलले जानकारी दिए ।








