नेकपा स्थायी कमिटि बैठक सात दिनका लागि स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आगामी ७ दिनका लागि स्थगित भएको छ । देशभर बाढी पहिराको प्रकोपले ठूलो जनधनको क्षति पुर्याएको घटनालाई मध्यनजर गर्दै बैठक आगामी शुक्रबारसम्म स्थगित गरिएको हो ।
यसअघि बैठक आजका लागि बोलाइएको थियो । मुलुकमा अविरल वर्षाका कारण आएको बाढी पहिरोको विपत्तिमा ध्यान दिन बैठक स्थगित गरिएको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाढी पहिरोले निम्त्याएको र अझै निम्त्याउन सक्ने विपत्तिमा उद्धार लगायतका काममा खटिन स्थायी समिति सदस्यहरू आफ्नो गृह जिल्ला जानुपर्ने भएकाले बैठक स्थगित गर्ने निर्णय गरिएको हो ।
यसबाहेक नेकपा अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डबीच निरन्तर जारी भेटवार्ताले पार्टीभित्रको विवाद समाधान गर्न नसक्दा बैठक स्थगित हुँदै आइरहेको छ । स्थायी कमिटी सदस्यहरुले अोलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो ।








