१४ औं महाधिवेशनबाट कांग्रेसको नेतृत्व लिने डा. शेखरको तयारी

काठमाडौं । नेपाली कांग्रेसलाई मुलुककै शक्तिशाली पार्टी बनाउने अभियान सहित पार्टीका प्रभावशाली नेता डा. शेखर कोइरालाले आसन्न १४ औं महाधिवेशनबाट पार्टीको नेतृत्व लिने तयारी गरेका छन् ।

अहिले डा. शेखर कोइरालाले पार्टीका ग्रासरुटका कार्यकर्तादेखि केन्द्रीय तहमा रहेका लिडरहरुसँग सोहि अनुसारको रणनीति बनाईरहेका छन् । फागुन पहिलो साता चौधौं महाधिवेशन गर्ने कांग्रेसको नयाँ मिति अनुसार डा. शेखरले पार्टीभित्र रहेको गुट उपगुटको राजनीति समेतको अन्त्य गर्ने योजना बनाएर काम गरीरहेका छन् ।

डा. कोइरालाले १४ औं महाधिवेशनबाट पार्टीभित्रको गुट उपगुटको राजनीति सदाकालागि समाप्त गरेर आउँदो निर्वाचनमा पार्टीलाई दुई तिहाई बहुमत हासिल गर्ने अवस्थामा पुर्याई छाड्ने सोच बनाएको डा. कोइराला निकट एक केन्द्रीय सदस्यले बताए । ‘उहाँलाई १३ औं महाधिवेशनमै नेतृत्व लिनुभन्दा उहाँले बेला भएको छैन भन्नु भयो, यसपटक चैं उहाँको विकल्प कांग्रेसमा छैन ।’ ती केन्द्रीय सदस्यले बताए ।

बर्तमान नेतृत्वले कार्यकर्ताको भावना अनुसार पार्टी चलाउन नसकेपछि पार्टीभित्र पुस्ता हस्तान्तरणको वहस तिब्र रुपमा चलिरहेको छ । एकथरी कांग्रेसीहरुले पटकपटक पार्टीको नेतृत्व तहमा बसेकाहरुले राजनीतिबाट विश्राम लिनुपर्ने बताउँदै आएका छन् । नयाँ पुस्तासँग भएको सोच र योजना अनुसार पार्टीलाई नयाँ दिशाबाट सञ्चालन गर्न सके कांग्रेसले आउँदो निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने युवा पङ्तीको धारणा छ ।

गत सोमबार सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले चौधौं महाधिवेशन २०७७ फागुन ७ गते देखि १० गते सम्पन्न गर्न निर्णय गरेसँगै कांग्रेस कार्यकर्ताहरुमा उत्साह त छाएको छ तथापि, बर्तमान सभापति शेरबहादुर देउवाले अझै एक कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना राखेकाले देउवा अनुकुल नहुने वित्तिकै उनले महाधिवेशनको मिति सार्नेपो हुन् की भन्ने आशंका पनि व्याप्त छ ।

१३ औं महाधिवेशनमा महामन्त्रीको प्रमुख दावेदार भएका डा. कोइरालाले त्यत्ति बेला वीपी कोइरालाका पुत्र डा. शशांक कोइरालालाई महामन्त्रीमा स्वीकारेका थिए । १३ औं महानिवेशनमा सर्वाधिक मत सहित केन्द्रीय सदस्यमा निर्वाचित भएका डा. कोइरालाले त्यत्ति बेला देखाएको त्याग कांग्रेस कार्यकर्ताले अझै सम्झिरहेका छन् । ‘डा. कोइरालालाई पार्टी र जनताका लागि काम गर्न पद नै चाहिँदैन भन्ने त १३ औं महाधिवेशनमा उहाँले देखाएको उदारताले नै प्रष्ट पारेको थियो, अब चैं पार्टीलाई एकढिक्का बनाउन पनि उहाँको आवश्यक्ता छ ।’

डा. कोइरालाले १४औं महाधिवेशनमा पार्टीको नेतृत्व दावि गर्दै देश दौहाडा समेत गरिरहेका छन् । लकडाउन अगाडी सम्म डा. कोइराला जिल्ला भ्रमणमा थिए । उनले पार्टीभित्र युवा पुस्ताहरुलाई अगाडी सारेर १५ औं महाधिवेशनमा पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सोच बनाएका छन् । ‘१४ औं महाधिवेशनमा सभापति हुने र १५ औं महाधिवेशन पछि पार्टीलाई युवा पुस्तामा हस्तान्तरण गर्ने सोच उहाँको छ ।’ कोइराला निकट नेता भन्छन् । डा. काेइरालाले त यतिबेला कांग्रेसलाइ गिराेहले चलाइरहेकाे समेत बताउँदै आएका छन् ।

कांग्रेसभित्र सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको तीन वटा शक्तिशाली गुट छ । र, देउवा, पौडेल र सिटौलाले नै केन्द्र देखि गाउँ तहसम्म गुट–उपगुट चलाइरहेका छन् । एकले अर्कोलाई बहिस्कार गर्नेसम्मको गुटगत राजनीतिलाई भत्काउन पनि डा. कोइरालाले पार्टीको नेतृत्व गर्नुपर्ने युवा कांग्रेसीहरुको भनाई छ । त्यसो त डा. कोइरालाले पार्टीलाई एकढिल्कामा अगाडी बढाउने हो भने नयाँ र पुरानाहरुको सम्मिश्रणबाट पार्टी चलाउनु पर्ने माग पनि छ ।

१४ औं महाधिवेशनमा पार्टी सभापतिको दावि गर्नेहरुमा बर्तमान सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समेत छन् । तर, आम कार्यकर्ताहरुको नजरमा डा. कोइराला लोकप्रिय रहेकाले महाधिवेशनमा उनको विजय सुनिश्चित देखिएको छ । डा. कोइरालाले त पटकपटक यथास्थितिमा पार्टी अगाडी बढ्न नसक्ने भन्दै देउवालाई काउन्टर दिइरहेका छन् । पार्टी स्रोतका अनुसार डा. शेखरले पार्टी सभापतिमा दावि गर्दा पौडेल र सिटौलाले समेत साथ दिने परिस्थिति बनेको छ । उनीहरु दुवै जना पार्टीभित्र रुपान्तरणको पक्षमा छन् ।

तत्कालिन अवस्थामा पौडेललाई स्वर्गिय गिरिजाप्रसाद कोइरालाले उपसभापति मनोनित गरेका थिए भने सिटौलालाई सुशील कोइरालाले महामन्त्री मनोनित गरेका थिए । पछिल्लो समय पार्टी सभापति देउवाबाट पिडित बनेका पौडेल र सिटौलाले खुलेरै देउवाको विरुद्धमा उत्रिएका छन् । उनीहरु आफैंले सभापति दावि गर्दै गर्दा देउवाले विगार्न सक्ने भएकाले डा. शेखरलाई समर्थन गर्ने संभावना छ ।

यता डा. कोइरालाले पनि महाधिवेशनमा उत्रन डा. रामशरण महत, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापा, प्रकाशमान सिंह, डा. शशांक कोइराला जस्ता नेताहरुको टिम बनाएर अगाडी बढ्ने रणनीति बनाएका छन् । त्यसकालागि आन्तरिक समिकरण बन्दै गएको स्रोतको दावि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *