प्रदेश एकमा होमियोप्याथिक शाखा कायम गर्न सुझाव

विराटनगर । प्रदेश नम्बर एक सरकारलाई होमियो चिकित्सकहरुको दर्ता काउन्सिलकाे व्यवस्था गर्न सुझाव दिइएको छ ।
सामाजिक विकास मन्त्रालयले गठन गरेको होमियोप्याथिक सेवा विकास तथा विस्तार अध्ययन कार्यदलले सोमबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई अध्यन प्रतिवेदन बुझाउँदै सो सुझाव दिएको हो ।
कार्यदलले स्वास्थ्य मन्त्रालयका साथै सामाजिक विकास मन्त्रालयमा होमियोप्याथिक शाखा कायम गर्नुपर्ने सुझाव पनि दिएको छ । होमियोप्याथियक चिकित्सा छुट्टै नीति र सिद्धान्तको चिकित्सा प्रणाली भएको हुनाले यसको समुचित विकास र विस्तार गर्न विषय विज्ञको आवश्यकता कार्यदलले औंल्याएको छ ।
प्रदेश नम्बर एक भरीमा ८० वटा होमियोप्याथिक सञ्चालनमा छन् । सामाजिक विकास मन्त्रालयले प्रदेश १ मा होमियोप्याथिक संस्थाहरुबाट प्रदान हुँदै आएको सेवा, पहुँच, श्रोत साधनको अध्ययन गर्ने कार्य विवरण दिएको थियो । सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक डा.सुरेश मेहताको संयोजकत्वमा ७ सदस्यीय कार्यदलले मन्त्री घिमिरेलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।
कार्यदलमा अल नेपाल होमियोप्याथिक एशोसिएसनका अध्यक्ष डा. केपी सुवेदी, नेपाल होमियोप्याथिक चिकित्सक संघ अध्यक्ष डा. रविन्द्र राय लगायत रहेका छन् ।








