मेलम्चीको पानी सुरुङभित्र पठाइयो, कहिले आइपुग्छ काठमाडौं ?

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम पुरा हुने तयारीमा छ ।
मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीका अनुसार मेलम्ची खोलाको पानी परीक्षणका लागि सुरुङभित्र हालिसकिएको छ । आइतबार बिहान साढे ९ बजे खोलामा बाँधिएको अस्थायी बाँधमार्फत सुरुङभित्र पानी पठाउन सुरु गरिएको हो ।
आज सुरुमा खोलाबाट झन्डै १ किलोमिटर सुरुङमार्ग पानीले भरेर अडिट टनेलमार्फत पुन खोलामै पानी झारिँदै छ । खोलाबाट अम्बाथान अडिटसम्म पानी पठाएर परीक्षण थालिएको हो । भोलि अम्बाथानको अडिट टनेलको ढोका बन्द गरेर सुरुङमार्गतर्फ पानी पठाइँदैछ ।
सुरुङमा पानी हालेपछि परीक्षण गर्दै सुन्दरीजलसम्म पानी आइपुग्न १५ देखि २० दिन लाग्ने जानकारी दिइएको छ ।काठमाडौंमा पानी झार्नका लागि झन्डै २ महिनासम्म परीक्षण गर्न समय लाग्ने छ ।
खानेपानीमन्त्री विना मगरले असार ३ गतेको राष्ट्रिय सभा बैठकमा असार महिनाको पेरिफिरेमा मेलम्चीको पानी टनेलमा टेष्ट गरिने बताएकी थिइन् । नयाँ आर्थिक वर्षबाट सञ्चालनको प्रक्रिया अघि बढाइने उनले जानकारी दिएकी थिइन् । उनका अनुसार मेलम्चीको पानी काठमाडौंमा केयुकेएलले वितरण गर्नेछ ।
यसअघि कार्यरत इटालियन निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको खानेपानी आयोजनाको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको छ । सरकारले बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी कम्पनीसँग गत वर्ष सम्झौता गरेको थियो । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन शून्य दशमलव १५ प्रतिशतले लाभांश दिने पनि सम्झौतामा उल्लेख थियाे ।








