कथाः उनी

 

ऋषी मुनिहरुको आश्रम, वरीपरी ठुला–ठुला बृक्षहरुले घेरेको, दायाँ तीरबाट कतै छङछङ त कतै शान्त हुदै बगेको ‘कोसी, कोसीको किनार, डुङ्गामा वारीपारी तर्ने मानिसहरुको प्रतिक्षारत माझिदाइ हरू । अनि त्यै किनारमा ढुङ्गा बटुल्दै बालुवा थुपार्दै बालापनमा रमाइरहेका साना नानीबाबुहरु । कोसीको किनारबाट अलि पर लमतन्न पर्दै अलि उठेको ठेउके डाँडा, ठेउके ! यति हरियो रमाइलो डाँडाको नाम ठेउके हुँदै भएन, ‘हरियो डाँडा’। हरियो डाँडामुनिबाट कोसीको पानी सुटुक्क लिएर बनाइएको नहर । आहा ! यो ठाउँजति मनमोहक मैले कहाँ देख्छु कुन्नि मनमनै उनले सोचिन् ।

उनी हिँडेकी थिइन् जो बस् हिँड्नलाई, यो हिँडाइको लक्ष्य उनलाई थाहा थिएन । २० बर्षको उमेरमै उनलाई बैराग्य छाउन थाल्यो । या के भयो उनलाई थाहा छैन । एकान्तमा बसेर हराउन मन लाग्यो । आफुलाइ यसरी नियाल्न मन लाग्यो, भनौ अन्तरआत्मा चिन्न मन लाग्यो । कोठामा बसिराखेकी उनलाई एक्कासी सबै कुरादेखि बिरक्ती जागेर आयो । ‘अँ कति पढिस् ? कुन डिभिजन ? अब के पढ्ने ? नानी ठुली भइछिन् अब बिहे गर्नुपर्छ, ओइ तेरो ब्वाइफ्रेन्ड छैन ? ओई थाहा छ फलानो त तँ भनेसी हुरुक्कै हुन्छ नी !’ फेरी अर्को आवाज तिमिलाई यो लुगाले कस्तो सुहाएको, आहा कति राम्री देखिएकी, त्यो चुरा पनि किनन, तिम्रो कपाल कुन कट काट्ने ?’ उफ् यस्ता घुमाउरो सुनिने सामान्य आवाजहरुले नै उसलाई उकुशमुकुश बैरागीलो बनाइदियो । मन एकदम शान्त वातावरणमा घन्टौं बिताउँ भन्छ । मन नपरेपछि त स्वभाविक बोलिहरुले पनि डस्दोरहेछ ।

अतः उनले एकदिन बाबालाई भनिन् ‘बाबा म चतरा जान्छु ल ।’
बाबा–‘मामाघर ! ए हुन्छ जाउ ।
उनी–‘मामाघर १–२ दिन बस्छु, अरुदिन नजिकैको बृध्दाश्रम घुम्छु है ।’
बाबा–‘हुन्छ छोरी तिम्रो इच्छा, तिमिमाथि विस्वास जो छ तिम्रो बाबालाई ।’
कौतहलले भरिएको तर प्रश्नहरु धेरै नतेर्स्याउने बानी उसको बाबाको तर अवश्य विस्वास जो छ छोरीमाथि ।
उनले छुट्टि पाइहालिन्, मामाघरमा झोला विसाएर भनिन् ‘म आश्रमतिर घुम्न जान्छु है । अनि आइपुगिन उनी यो रमाइलो हरियो डाँडा, अनि यसको पल्लो पटि बसिन सुटुक्क चुपचाप ।
केटाकेटीहरु १ ‘ओेइ उ पर हेर्न हाम्रो गाउमा त बुद्द आएछन् ।’
२ ‘अँ होला, बुद्ध त उहिले मरिसकेका, मरिसकेको मान्छे आउछ कि के हो नी ।’
३ ‘उ जा के भनेको होला, भगवान नी कै लै मर्छन त । हो त रैछ त, मैले नी देखे, आएछन् हेर्न नपत्याए उ त्यो रुखनेर उ उत्तापट्टि ।’

४ ‘ह्म खै उस होला त्यो त केटि मान्छे जस्तो छ के को बुद्ध हुनु, को बौलाई हो कि, हिँड जाउ रामेश दाइलाई भनौं न बरु ।’
गुरुरु कुदेर रामेश दाइकोमा पुगे, यी भुराभुरी भन्दै रामेश दाईको आमाले खेदाइहाल्छिन् । भुराहरु साउती मार्ने बानी भैसके, साउती गर्छन् । ‘बुद्ध आएका छन् हाम्रो गाउमा, केटी बुद्ध के ।’
‘हँ के भन्छन् यी केटाकेटी ?’ रामेश आधा हाँस्दै, नपत्याउदै बोल्छन् । लु हिँड त मलाइ देखाओ ।
रामेश केटाकेटीहरुसँगै नहरको पल्लो छेउ नपुगि वरैबाट हेर्छन् । ‘तिमिहरु यहि बस्दै गर, फेरी बौलाहा रैछभने तिमिहरु भाग्न सक्दैनौ के ?’

केटाकेटीहरु रामेशको बिस्तारै चलेका पाइलाहरु आँखाले पछ्याउदै बसे, कौतुहल र डर मिश्रित आवाजमा ‘बुद्ध रैछ भने हाम्लाई नी बोलाउनु है दाई ।’

उनको बनौट मुर्ती झैं शान्त रुप देखेर रामेश हच्कियो । यो जमानामा यो १८–१९ बर्षकी केटीलाई यस्तो ठाउमा आएर के बस्न मन लागेको होला । हैन कत्ति शान्त हुन सकेकी यो केटी, ह्म पक्कै यसको ब्वाइ फ्रेन्डले धोका दियो होला । कि के भो होला यो केटी । साँच्चिकै बौलाही त हैन, धत् हुन सक्दैन यो चाहिँ । यो केटीको यो हाल देखेर त मेरो टाउकै घुम्न लाग्यो थैट् । मनमनै अनेक तर्कना गरेको गर्यै भयो रामेश । केटाकेटीले रामेश फर्केरै नहेरेकोले सिट्ठि बजाए, झसङ्ग भयो रामेश । हातले इशारा गर्यो ।

१ ‘दाइ को रैछ बुद्ध हो बुद्ध ?’
२ ‘बोलेन !’
‘सुन केटाकेटी हो, कोहि शान्तिसँग बस्न आएको होला, तिमिहरु आ–आफ्नो घर जाओ । तिनलाई भोक लाग्ला अनि आफैं जालीन नी है, लु जाओ है घर अनि अरु कसैलाई नभन, फेरी सबै आएर बिचरीलाई डिस्टर्ब गर्देलान्, है, ल जाओ जाओ । भोली हेरुम्ला नी फेरी बरु है ।’ फकाउदै भने रामेशले । रामेश केटाकेटीका प्यारा न परे, मानिहाले, टाउकै हल्लाउदै लागे घरतिर ।
केटाकेटीलाई पठाएर रामेश पुनः उसको छेउमा जान खोजे, फेरी के शुर चढ्यो, परबाट हेरिरहन मन लाग्यो । अलि परको ढुङ्गामा चढे ।
आठ बजिसक्यो । ‘यो केटी उठ्दिन त । हैन ! बुद्ध केटी बनेर आएछन’ आफै खिस्सि गर्दै रामेश हाँस्छन् । उ हल्लीइन, हल्लिइन्, उठ्छिनजस्तो छ ।

रामेश ‘हाई के छ ? किन यस्तो ठाउमा आएर तपस्या गरेझैं गर्नुभएको ?’
उनी तपस्या गरेझैं ? तिम्रो मतलब ? अनि तिम्लाई के को चासो ? यो ठाँउ तिम्रो सम्पत्ति हो ?’ मान्छे देख्नु र सुन्नुमा कति फरक रैछ बा । अप्रत्याशित र नसोचेको पाराको जबाफले झस्किन्छन् रामेश ।
रामेश झनै नरम भएर, ‘लौ किन रिसाउनु भ’को ? मलाइ त आजकालको, झनै केटी मान्छे, यसरी जङ्गलमा आएर किन एकान्तमा बस्नुभयो, के पिर पर्योकि भनेर पो त ।’
उनी ‘ए मेरो पिर हेर्ने तिमी को हौ ? अनि केटि मान्छेले यहाँ आउन हुन्न ? मान्छे जङ्गल आउन नहुने भए तिमी चै किन यहाँ ?’
रामेश पुरै तर्सियो । बौलाही ! अहँ हुन सक्दैन । कस्ती खालकी केटी यो ?
म सिधा कुरा गर्छु, उ बाङ्गो–बाङ्गो ।

रामेशलाई यहाँ धेरै बोल्नु उचित लागेन, सरासर घरतिर लाग्यो । पर पुग्यो, मानिसको स्वभाब न हो, फेरी उत्सुकता जाग्यो, कता गइछ यो केटी, को रैछ यस्ती ? यता, उता सबैतिर हेर्यो, देखेन । हैन, बनकली हो कि के हो यो ? हा हा एक्लै कल्पना गरेर मुस्कुराउदै घर पुग्यो ।

एवम् क्रम, भोलिपल्ट, पर्सिपल्ट लगातार पाँच दिन उ त्यहि आई र त्यसैगरी चुपचाप बसी, साँझ परेपछि जुरुक्क उठी र कता लागी–लागी ।

छैटौ दिन, रामेशले सधैं झैं परबाटै चिहायो । उहि आकृती देख्ने आशमा । तर, पछाडिबाट कसैले बोलायो । ‘ओ महाशय, म यता छु । हि हि हि ।’ रामेशले मनमनै भन्यो ‘ओहो यो पाराको सम्बोधन अरु कस्को हुन सक्छ र ?’

तर आफु आफ्नै शुरमा भएको र कसैको खोजिमा नभएको जस्तोगरी पछाडि फर्क्यो । उसले नै कुरा शुरु गरी । ‘अनि अस्ति त मलाई खुब अन्तरबार्ता लिदै हुनुहुनथ्यो नी ।’
रामेशलाई एक्कासी झनक्कै रिस उठ्यो ।
‘हो तिमी त जङ्गल नै पस्ने बेला भएको रहेछ ।, जाउ अझै तपस्या हो कि ध्यान जे हो तेहि गर । बोल्ने तरिका पनि सिक । तिमिलाई केहि सोध्यो भनेनी मन नपर्ने, मान्छे बोल्दै मन नपर्ने, अझ अन्तर्बार्ता रे ।’
उ ‘ल मान्छे ध्यान गरिरहेको बेलामा तिमी चै आएर ध्यान भङ्ग गर्ने ?’

सुर्रिने तरिका तर शान्त खाले भाव अनौठो लाग्यो रामेशलाई, उसका आँखामा गहिरो भाव अनि अनुहार अचम्मैलाग्दो शान्त थियो । एकछिन दुबै मौन रहे, कोसीको स्वच्छ हावाको झोकाले दुबैलाई मज्जाले सुमसुम्याएर गयो । अलिकति पर्तिर खोल्सोको स्यानो मधुरो छङछङ, यै बेला आकाशमा एक हुल चराहरु भुर्र उडे, अनि दुई ढुकुरहरु चंै चारो टिप्दै, एक अर्कालाइ ठुगे जसोगरी जिस्किदै रामेशको छेउमै अलमलिइरहे । रामेश ढुकुरहरु हेर्दै टोलायो । उसले रामेशको रीष मरोस भनी कुरीरही ।

‘लु भै गो छोडिदेउ यो कुरा, मलाइ माफ गर अनि तिम्रो नाम के हो ?’ मन्द मुस्कुराउदै उसले ठट्टाको भावले कुरा शुरु गरी ।
‘रामेश’
कुरा गर्दै गएसी त रामेशलाई उ जादुगर्नी परी जस्ती पो लाग्न थाल्यो ।
रामेश ‘अनि के सिक्यौ त यतिका दिन घर छोडेर यहाँ आएर ?’
उ ‘धेरै कुराहरु सिकेको छु । कुन भनुम् ?’ मुसुमुसु हाँस्दा उसका आँखाका कुनामा हल्का मुजा परे । कति सुहाएको । उसले पुलुक्क रामेशलाई हेरी । रामेश भुतुक्कै भइसकेको थियो । कुनै नभन तिम्रो आँखामा हेरीरहन देउ, म आफै घन्टौ पढ्न सक्छु, रामेशलाई एकै स्वासमा भन्दिउँ झैँ लाग्यो तर उसले बोल्यो ।
‘उम् जुन भनेनी हुन्छ ।’

उ ‘जीवनदेखि अघाएर मात्र जीवनको अन्त्य हुदैन नत जीवनको सदुपयोग नै हुन्छ ।’
‘सबैलाइ खुसि पारेर बाँच्छु भनेर सोच्नु त पटक–पटक मर्नु जस्तै रहेछ किनकि त्यो सम्भब नै छैन ।’
‘बाच्ने सबैको आ–आफ्नै तरिका हुन्छ, आफु र अरुलाई हानि नगरी बाँचे भै गो, अरु कोहिसँग सहमत हुनैपर्छ भन्ने छैन ।’
रामेशको मनमा केहि प्रश्नहरु तेर्सिए अनि आफैं थन्कीए । प्रश्नका जबाफ तिनै तीनवटा कुराको वरीपरी घुम्यो । ‘फेरी पनि, तिमी यति कुराहरु सिक्न यहाँ जङ्गलमा आइरहनुपर्थ्यो त, बिस्तारै जिन्दगीले सबै सिकाइहाल्थयो् नी’ रामेशलाई भन्न मन लाग्यो । तेस्रो कुराले रोक्यो, चुप्प लाग्यो ।

रामेश उसले मोहनी लाएजस्तो लट्ठ पर्न थालिसकेको थियो । मनमा साच्चिकै ज्वारभाटाहरु चलिरहेको थियो तर,
यतिबेलासम्म गहिरीएर सुनिरहेको रामेश बोल्यो आधा जिस्कदै आधा गम्भीर हुँदै ‘माया पिरतीको वोटमा के सिक्यौ नी ?’
उ ‘खै मैले सोचेकै छैन, अर्कोचोटि यात्रा गरुम्ला यो ठाउँको, अनि भनुम्ला । हि हि ।’ उसले उस्तै भावमा जबाफ दिई । ‘म भोली घर फर्कदै छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

kite