चितवनका किसानले गरे धानखेतीमा नयाँ प्रविधिको प्रयाेग

- ध्रुवराज खनाल
चितवन । यान्त्रिकरण र व्यवसायीकरण विना कृषि क्षेत्रको विकास हुन नसक्ने भन्दै चितवनका किसानले नयाँ प्रविधिकाे प्रयोग सुरू गरेका छन् । चितवन खैरहनी-१० समनपुरका किसान नविन श्रेष्ठले नयाँ प्रविधि हाते मेसिनको प्रयोग गरेर धान रोपाईँ गरेका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवनको सहयोगमा उनले मेसिनको प्रयोग गरी धान रोपेका हुन् । धानको बीउ छर्नेदेखि रोप्ने बेलासम्म उनलाई परियोजनाले सहयोग गरेको छ । धान जोन लागू भएको पूर्वी चितवनमा उनी जोन संचालक समिति सदस्य पनि हुन् । जोन संचालन भएको क्षेत्रमा प्रविधिको प्रयोग मार्फत धान रोपाईँ गर्ने उनी एक मात्र हुन् । मेसिनको प्रयोग गरेर गरिएको खेतीबाट राम्रो उत्पादन नहुने बुझाई किसानको छ । त्यसैले पनि प्रविधिको प्रयोग जिल्लामा खासै भएकाे छैन ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल पर्याप्त मात्रामा प्रविधिको सुविधा हुन नसक्दा किसानहरु यसतर्फ आकर्षित हुन नसकेको बताउँछन् । ‘प्रविधिको प्रयोग मार्फत गरिएको खेतीबाट उत्पादन कम हुन्छ भन्ने सोच छ, तर त्यस्तो हाेइन । यन्त्र उपकरण पर्याप्त मात्रामा उपलब्ध गराउन सके किसानलाई कन्भिन्स गराउन सकिन्छ,’ ज्ञान केन्द्र प्रमुख ढकालले भने ।
ढकालका अनुसार जिल्लामा कृषि क्षेत्रमा प्रविधिको प्रयोग खासै भएकाे छैन । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सीना प्रविधिको प्रयोगबाट गरिएको खेतीमा उत्पादन नघट्ने दाबी गर्छन् । ‘सुरुदेखी नै लागत खर्च कम हुन्छ । परम्परागत रुपमा गरिएको खेतीको तुलनामा उत्पादन घटे त्यसको जिम्मा परियोजनाले लिन्छ । किसानलाई बानी बसाल्न गाह्रो भएकाले पनि प्रविधिको प्रयोगले व्यापकता पाउन सकेकाे छैन,’ परियोजना प्रमुख तिमल्सीनाले बताए ।
कृषिमा यन्त्र, प्रविधिको प्रयोग बढाई किसानको लागत घटाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लागू भएको हो । चितवनमा विगत चार वर्षदेखी यो कार्यक्रम लागू छ । परियोजनाले धान जोन, केरा जोन, तरकारी जोन र माछा जोन बनाएर काम गरिरहेको छ । धान जोन कार्यक्रम संचालन समिति संयोजक तेजप्रसाद वर्तौलाको अध्यक्षतामा भएको प्रविधि प्रर्दशनी तथा मेसिनबाट धान रोप्ने कार्यको सुभारम्भ कार्यक्रममा परियोजनाका कृषि अधिकृत माधव पौडेल, खैरहनी १० का वडा सदस्य पदमबहादुर चुहान लगायतको सहभागीता रहेको थियो ।








