डा. भगवान कोइराला, ओम सर्जिकल र मन्त्रालयको खरिद संयन्त्रविचको सम्बन्धको अन्तर्य के हो ?

 

काठमाडौं । डा. भगवान कोइराला, बरिष्ठ मुटुरोग विशेषज्ञ, जसलाई आम नेपालीले भगवानकै रुपमा हेर्छन् । उनको दक्षता, विद्वता र चिकित्सा सेवा प्रतिको भावलाई हेरेर जो कोहीले उनलाई प्रश्न उठाउँदैनन् । तर, चन्द्रमामा पनि दाग हुन्छ भने जस्तै हजारौं मानिसका ह्दयका ढुकढुकी छाम्ने बरिष्ठ डाक्टर भगवान कोइराला आजकल विवादित हुँदै गएका छन्।

कोभिड–१९ को संक्रमण रोकथाम न्यूनिकरणका लागि सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठन गरेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटि(सिसिएमसी) को सल्लाहकारमा रहेका डा. कोइरालाले आजकल अधिकांश समय स्वास्थ्य मन्त्रालय र स्वास्थ्यमन्त्रीको कार्यकक्षकै वरिपरी विताउन थालेपछि आलोचित भइरहेका छन् ।

त्यसो त सिसिएमसीले भनेजस्तो काम नगरेको भन्दै सरकारले विघटन गरीसकेको छ । तर, सिसिएमसीका सल्लाहकार मात्र भनिएका बरिष्ठ डाक्टर कोइराला स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै वरपर रही हरेक कार्यमा आफ्नो धारणा लाद्न खोज्दा असजिलो बढेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भन्दछन् । ‘उहाँ र स्वास्थ्यमन्त्रीज्यूको निकटता धेरै छ जस्तो देखिन्छ, उहाँ कहिलेकाहीं त प्रधानमन्त्रीको चाहना भन्दै मन्त्रीज्यूलाइ पनि निर्देशन दिने भावमा कुरा राख्नु हुन्छ, उहाँको उपस्थितिमा मन्त्रालयका कतिपय भित्री निर्णयहरु गर्नु गराउनु पर्दा हामीलाई असहज लाग्छ ।’ सहसचिब स्तरका एक कर्मचारीले भने ।

डा. कोइराला कोभिड–१९ नियन्त्रण र रोकथामका लागि मन्त्रालयले खरिद गर्ने कोरोना सामग्री खरिदमा नजानिदो चालले जोडिएको मन्त्रालय स्रोतको दावि छ । उक्त स्रोतका अनुसार स्वास्थ्यमन्त्रीलाई ओम सर्जिकलसँग जोडाउन डा. कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ओम सर्जिकलका सञ्चालक रामशरण भण्डारी र डा. भगवान कोइरालाको ‘दोस्ती’ पुरानो हो । भण्डारी मेडिकल सामग्री आयातकर्ता र डा. कोइराला बरिष्ठ चिकित्सक भएको नाताले दोस्ती जम्नु नौलो कुरा त होइन । उनीहरु विच त्रिवि शिक्षण अस्पताल, गंगालाल ह्दय केन्द्र देखि अहिले डा. कोइरालाले सात वटै प्रदेशमा खोल्न लागेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको निर्माण र सञ्चालनसँग जोडिएको छ । भण्डारीले उक्त अस्पताल निर्माण सँगै खरिद हुने अरबौंका उपकरणतिर अहिले देखिनै आँखा लगाएर कदम चाल्दैछन ।

कुनैबेला ओम सर्जिकलका भण्डारीले सञ्चालन गरेको ह्याम्स अस्पतालमा काम गर्नका लागि डा. कोइरालालाई मासिक १० लाख अफर गरेका श्रोत बताउँछ । ह्याम्स अस्पताल राजधानीमा स्वास्थ्य सेवा भन्दा पनि महंगो शुल्कमा कारण कहलिएको अस्पताल हो । भण्डारीले डा. कोइरालालाई ह्याम्स अस्पतालको व्यवस्थापन को जिम्मा नै लगाएका थिए  । डा. कोइरालाले काठमाडौंमा स्थापना गर्न लागेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको लागि ओम सर्जिकलका सञ्चालक भण्डारीले पनि सहयोग गरेका छन् ।  डा. कोइरालाको नेतृत्वमा बन्न लागेको अस्पतालका लागि ४१ रोपनी जग्गा उपलब्ध गराउन गत साउन ६ गतेको मन्त्रिपरिषद् बाटै निर्णय गराउनमा ओम सर्जिकलका भण्डारीले पूर्व सञ्चार तथा प्रविधिमन्त्री गोकूल बाँस्कोटालाई प्रयोग गरेकाे  स्राेतकाे दावि छ ।

अहिले कोरोना सामग्री खरिदमा ओम्नी समूह विवादमा आए पनि सबैभन्दा बढि मौका भने ओम सर्जिकलले पाएको छ । ओम सर्जिकलले स्वास्थ्य मन्त्रालय सँगै स्वास्थ्य सेवा विभागबाट खरिद गर्न लागिएका अधिकांश औषधी उपकरणको ठेक्का बाजी मारेको छ । तर, ओमले एक महिना यता करोडौंको कोरोना स्वास्थ्य सामग्री खरिदको टेण्डर पाएपनि तोकिएको सामग्री उपलब्ध गराउन सकेको छैन ।

बैशाख ५ गते यता ओम सर्जिकलले आधा दर्जन टेण्डर विट गरेपनि कुनैमा सन्तोषजनक काम गरेको छैन । र, पनि स्वास्थ्य मन्त्रालयको खरिद संयन्त्रले ओम्नीसँगै ओम सर्जिकललाई काखी च्यापेर हिँडेको स्वास्थ्य मन्त्रालय स्रोतको दावि छ । त्यसो त ओम सर्जिकललाई सरकारलाई भनेर ल्याइएको सामग्री बाहिर विक्रि वितरण गरेको समेत आरोप छ । सरकारले ओम्नीसँगको सम्झौता रद्द गरेर ओम सर्जिकल लगायतलाई टेण्डर दिएको भएपनि उनीहरुले पनि कोरोना स्वास्थ्य सामग्री समयमै भित्र्याउन सकिरहेका थिएनन् ।

पछिल्लो समय स्वास्थ्य सेवा विभागले खरिद गर्न लागेको १ लाख ५० हजार पीसीआर कीटको स्पेसिफिकेशन बनाउने बेलादेखि नै नीतिगत भ्रष्टाचार भएको पाइएको छ । मन्त्रीदेखि मन्त्रालयका अधिकारीहरुसँग मिलेमतो गरि नीतिगत भ्रष्टाचार गरेकै कारण ११ औं नम्वरमा रहेको ओम सर्जिकललाई पीसीआर कीट खरिदको ठेक्का परेको छ । २४ करोड ८१ लाख कबोलेको ओम सर्जिकल बोलकबोलमा उत्रिएका कम्पनीहरुमध्ये ११ औं नम्बरमा थियो । सामान्य हिसावले हेर्दा उसले टेण्डर पाउने सम्भावना नभएपनि स्वास्थ्यमन्त्री ढकालले डा. कोइरालाकै जोडवलमा ओमलाई टेण्डर दिएको मन्त्रालय श्रोत दावि गर्छ ।

उक्त टेण्डरमा हाम्रो मेडी कन्सर्नले कम कबोलेको भएपनि म्यानुअल सिस्टम नभएको बहानामा खरिद गर्ने मौका पाएन । दोस्रो कम कबोलेको कम्पनी फेयर ट्रेडले १६ करोड ९९ लाखमा प्रस्ताव गरेकोमा उसलाई पनि प्राविधिक कारण देखाइ हटाइएको थियो । यसरी नै अरु १० वटालाई फालेर ११ औं नम्बरको ओम सर्जिकललाई टेण्डर दिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।

कोरोना स्वास्थ्य सामग्री खरिदमा ओम सर्जिकल एकलौटी गर्नुमा डा. कोइरालाको चाहना नै भित्रि कारण रहेको स्वास्थ्य मन्त्रालयकै कर्मचारीहरु बताउँछन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले डा. कोइरालाको कुरा काट्ने हिम्मत नराख्ने भएकोले त्यसैको फाइदा ओम सर्जिकलले उठाइरहेको चर्चा छ ।

डा. कोइराला नेपाल मेडिकल काउन्सिलका अध्यक्ष हुन् । उनलाई काउन्सिलले तलब त दिँदैन तर, राम्रो सेवा सुविधा र भत्ता चैं दिन्छ । मेडिकल काउन्सिलको रजिष्ट्रार कार्यकारी हुने भएकोले निजले स्वास्थ्य मन्त्रालयसँग जोडिएर काम गर्नुपर्ने हुन्छ । तर, अध्यक्ष नै दिनभर मन्त्रालयमा बसेपछि काउन्सिलका रजिष्ट्रारको भूमिका खुम्चिनुका साथै काउन्सिल मन्त्रालयको एक शाखा जस्तो हुन थालेको स्वयं काउन्सिलका पदाधिकारीहरु बताउँछन् । ‘अध्यक्षज्यूको काम भन्दा रजिष्ट्रारको काम बढि हुन्छ, तथापि, उहाँ आजकल कमै आइरहनु हुन्छ । बरु स्वास्थ्य मन्त्रालय तिरै भेटिनुहुन्छ ।’ काउन्सिलका एक कर्मचारीले भने । ‘हुन त कांग्रेसको सरकार हुँदा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको आशिर्वाद र कम्युनिष्ट सरकार हुँदा आफै बामपन्थी भएको दावी सहित सञ्चार गृहलाई प्रभावमा राख्ने कलाले वहाँ सदाबहार शक्ति केन्द्र हो, वहाँ शौचालय धेरै पटक जाँदा नि समाचार बन्छ अरुले अन्न फलाउँदा नि बन्दैन ।’ शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सक बताउँछन् ।

यता डा. भगवान काेइरालाले भने आफु एक डेढ महिना यता स्वास्थ्य मन्त्रालय नगएकाे बताए । सरकारले गठन गरेकाे सिसिएमसीमा समेत आफु आधिकारिक रूपमा नभएकाे तर्क गर्दै स्वास्थ्यमन्त्रीकाे अनुराेधमा सल्लाह सुझाब दिनका लागि मात्र जाने गरेकाे बताए । ‘म एक डेढ महिना यता स्वास्थ्य मन्त्रालय गएकाे छैन, सिसिएमसीमा पनि छैन, सुरूसुरूमा स्वास्थ्यमन्त्रीले सल्लाह माग्न बाेलाउनुहुन्थ्याे । तर, हामी विज्ञहरूले दिएकाे सल्लाह नसुनेपछि जानै मन लागेन ।’ उनले भने । 

डा. काेइरालाले काेभिड-१९ नियन्त्रणका लागि आफुहरूले दिएकाे सल्लाह सुझाव र गाइडलाइन बनाउन सुरूका दिनमा जाेडवलले लागेपनि सरकारले कार्यान्वयन नगरेकाे गुनासाे गरे । ‘कार्यान्वयन नहुने कुराहरू उठ्ने भएपछि मैले चासाे दिएकाे छैन, स्वास्थ्यमन्त्रीले पत्रकार सम्मेलनमा पनि आइदिनु भन्नु हुन्थ्याे म मेडिकल काउन्सिलकाे अध्यक्ष भएकाे र सिसिएमसीमा समेत नभएकाेले मन्त्रालयकाे ब्यानरमा बाेल्न मिल्दैन भनेर जान मन लागेन । मेराे कुनै फर्मल राेल भएन ।’ डा. काेइरालाले भने । 

काेभिड-१९ राेकथाम नियन्त्रणका लागि स्वास्थ्यमन्त्रीसँग नेतृत्व गर्ने क्षमता नै नभएकाे तर्क गरे । ‘ब्यक्तिगत हिसाबले स्वास्थ्यमन्त्री करप्ट हुन् म भन्दिन, तर उहाँ असफल चै हुनुभयाे । उहाँमा नेतृत्व गर्ने क्षमता भएन , कन्ट्राेल गर्न नसकेकै हाे ।’ डा. काेइरालाले तर्क गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =