तीन दिनमै पूर्व-पश्चिम पुग्यो सलहः कसरी भगाउने ?

काठमाडौं । शनिबार प्रदेश ५ को भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही आएको सलहको हूल तीन दिनमै पूर्व पश्चिम पसेको छ । प्रदेश ५ का रूपन्देही, कपिलवस्तु र पाल्पामा देखिएको सलह सोमबारसम्म पश्चिम नवलपरासी, अर्घाखाँची र दाङमा पुगेको हो ।

सुदूरपश्चिमका कैललालीमा पनि सलह देखिएको छ भने गण्डकीका स्याङ्जा, कास्की, पूर्वी नवलपरासी, गोरखा तथा वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, काभ्रे र ललितपुरमा समेत पुगेको छ । प्रदेश २ का सर्लाही, बारा र पर्सामा शनिबार देखिएका सलहमध्ये केही उत्तरतर्फ लागेका छन् ।

सलहको झुन्ड देशका विभिन्न जिल्लामा पुग्न थालेपछि किसानहरु चिन्तित भएका छन् तर, जानकाहरुले नेपाल प्रवेश गरेको सलहको झुन्ड सानो रहेको बताएका छन् । यसले धेरै क्षति नपुर्‍याउने भए पनि ठूलो झुन्ड आउन सक्ने खतरा रहेको उनीहरुको भनाई छ । भारतबाट प्रवेश गरेको सानो झुन्ड सयौँको संख्यामा विभिन्न जिल्लाहरूमा पुगेको प्लान्ट क्वारन्टीन एवम् विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए ।

‘अहिलेको झुन्डसँग हामी खासै डराएका छैनौँ । यसको उमेर पनि गइसकेको छ । झुन्डकोआकार एक डेढ महिनामा सानो हुँदै हराएर जान्छ,’ उनले भने, ‘तर भारतको राजस्थानमा ८–१० वटा झुन्ड तयार भएर बसेका छन् त्यो चाहिँ उत्तरतर्फ बहाव भएर आइदियो भने समस्या पर्न सक्छ ।’ जनकपुरदेखि पश्चिम तर्फका क्षेत्रहरूमा सजगता अपनाउनु पर्ने अवस्था रहेको उनी बताउँछन् ।

पाकिस्तान र भारतमा सलहको प्रकोप बढेसँगै नेपालमा उक्त किरा नछिरोस् भन्ने हेतुका साथ त्यसबारे थप अध्ययन गर्नका लागि गठन गरिएको एउटा प्राविधिक समितिले जेठ महिनाको अन्तिम हप्तामा नेपालमा तत्कालका लागि सलहको जोखिम टरेको बताएको थियो । उक्त समितिले भारतको राजस्थानबाट सलह अन्तै तिर मोडिएको र नेपालमा मनसुन आउन लागेको भन्दै त्यस्तो निष्कर्षमा पुगेको बताएको थियो । तर हावाको बहावमा परिवर्तन भएसँगै सलह नेपाल प्रवेश गरेको हो ।

भारतको राजस्थानमा सक्रिय रहेको भनिएको सलहको झुन्ड नेपाल प्रवेश गर्ने नगर्ने विषय हावाको बहावमा भर पर्ने अधिकारीहरू बताउँछन् । सलहको एउटै झुन्ड आठ करोडसम्मको हुन सक्ने हुँदा जोखिम ठूलो हुने बताइएको छ ।

कसरी भगाउने ?
सरकारी स्तरबाट मात्रै सलहसँग जुझ्न गाह्रो हुने हुँदा जनचेतना बढाउने सरोकारवालाहरुले बताएका छन् । ठूलो झुन्ड नियन्त्रणमा प्रदेश सरकार र कृषि ज्ञान केन्द्र जुट्नुपर्ने केन्द्र सरकारको भनाई छ ।

किसानका हकमा भने उनीहरूको खेतबारीमा एक हजारसम्मको सलह पसे के गर्ने भन्ने विषय जानकारी गराउने पनि सरकारी तयारी छ । सानो सङ्ख्यामा रहेका सलहलाई किसानहरूले कीटनाशक छर्कन सक्छन् । हालको अवस्थामा किसानहरूले आफ्ना खेतबारीमा सलह बस्न नदिने उपाय अपनाउन जरुरी छ ।

‘खेतबारी जोगाउन सकियो भने त्यो वनतिर जान्छ जसकारण क्षति कम हुन्छ’ सुवेदीले भने । त्यसबाहेक ठूलो आवाज र धुवाँबाट पनि सलहलाई भगाउन सकिन्छ । करिब दुई दर्जन जिल्लामा सलह फैलिइसक्दा पनि नियन्त्रणमा सरकार अझै अलमलमा देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *