ईटहरी उपमहानगरपालिका र नेपाली सेनाको सहकार्यमा वृक्षारोपण

काठमाडौं । वृक्षारोपण दिवसको अवसरमा आज (आइतबार) ईटहरी उपमहानगरपालिका र नेपाली सेनाको सहकार्यमा वडा नं. ३ स्थित तालतलैया परिसरमा वृक्षारोपण गरिएको छ ।
‘रुख रोपौं वातावरण जोगाऔं’ भन्ने मूल नाराका साथ ईटहरी उपमहानगरपालिका वडा नं. ३ कार्यालय र नेपाली सेना पूर्वी पृतना हेड क्वाटर ईटहरी सुनसरीको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
पूर्वी पृतनापति उपरथी अनन्त कार्की र ईटहरी उपमहानगरपालिकाका मेयर द्धारीकालाल चौधरीको संयुक्त प्रमुख आतिथ्यमा सम्पन्न उक्त वृक्षारोपण कार्यक्रममा ईटहरी उपमहानगरपालिकाका उप प्रमुख लक्ष्मी गौतम, वडा नं. ३ का वडा अध्यक्ष बालकृष्ण विष्ट, नं. १ प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीका प्रमुख, सशस्त्र प्रहरी नं. १२ गुल्मका प्रमुख, उद्योग वाणिज्य संघ ईटहरीका अध्यक्ष तथा उपाध्यक्ष, विभिन्न सुरक्षा निकायका प्रमुखहरु साथै स्थानिय बासिन्दा तथा संघ संस्थाहरुको प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । आँप, कटहर, सजिउन, तेजपत्ता जस्ता विभिन्न प्रजातिका करिब ३६५ फलफुलका विरुवाहरु रोपिएको छ ।

वडा नं. ३ ले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा पृतनापति उपरथी कार्कीले नेपाली सेनाले आफ्नो जिम्मेवारीको अतिरिक्त समृद्ध नेपाल सूखी नेपाली भन्ने राष्ट्रिय आकांक्षालाई पूरा गर्नको लागी नेपाली सेना आफ्नो क्षेत्रबाट लागी परिरहेको बताएका थिए । सोही अनुसार नेपाल सरकारको एक नेपाली एक फलफूलको विरुवा भन्ने धारणा अनूरुप नेपाली सेनामा पनि एक सैनिक एक फलफुलका विरुवा भन्ने अवधारणालाई अगाडी बढाइएको साथै नेपाल सरकारको उक्त कार्यक्रम उपलव्धिमूलक र परिणाममुखी हुने उनको भनाइ थियो ।
तालतलैया पर्यटकीय क्षेत्र भएका कारण यहाँ बिभिन्न प्रजातीका फलफूल लगायत अन्य प्रजातिका बिरुवा रोप्नुको साथसाथै त्यसको संरक्षण गर्नु पनि मुख्य अद्धेश्य रहेको र कोरोनाको कारण हाल यस क्षेत्र थला परेको अवस्थामा यस्ता खालको कार्यक्रम तथा गतिबिधिले बिस्तारै आन्तरिक साथसाथै बाह्य पर्यटकीय क्षेत्रलाई समेत मद्धत पुग्ने तालतलैया विकास तथा संरक्षण समितिका महासचिव राजु बस्नेतले बताए ।








