दोलखाकी एक गर्भवतीको हवाई उद्धार

काठमाडौँ । अत्यधिक रक्तस्रावका कारण गम्भीर बिरामी परेकी दोलखाकी एक गर्भवतीको हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

अत्यधिक रक्तस्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा शुक्रबार भर्ना भएकी गौंरीशङ्कर गाउँपालिका–४ झ्याकुकी सात महिनाकी गर्भवती पासाङ ठिली शेर्पालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी शनिबार दिउँसो काठमाडौँ ल्याइएको हो ।

शेर्पाको काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा उपचार भइरहेको छ । छ दिनदेखि रक्तस्राव भएर शेर्पालाई थप उपचारका लागि काठमाडौँ रिफर गर्नु परेको केन्द्रका चिकित्सक डा. अरुण उप्रेतीले जानकारी दिए ।

अस्पतालका अनुसार शेर्पाको पाठेघरको मुखमा र पेटमा रहेको बच्चाको समेत मुटुमा समस्या देखिएको थियो । अस्पतालले काठमाडौँ लैजानुपर्ने अवस्था रहेको सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई जानकारी गराएका थिए । त्यसलगत्तै मन्त्री गुरुङले आफ्नै पहलमा हवाई उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरेका थिए ।

मन्त्रालयअन्तर्गतको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गर्दै आएको छ । बन्दाबन्दीको अवधिमा मात्रै २० जना गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको कार्यक्रम समन्वय इकाइकी प्रमुख अञ्जु ढुङ्गानाले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *