भारतीय नागरिकले दाङबाट वंशजको नागरिकता लिएको रहस्य खुल्यो

दाङ। एक जना भारतीय नागरिकले गलत विवरण पेश गरेर जिल्ला प्रशासन कार्यालय दाङबाट वंशजको नागरिकता लिएको खुलेको छ। भारतको उत्तर प्रदेश बलरामपुर जिल्ला श्रीदत्तगञ्ज उत्रौला घर भएका २५ वर्षीय विशाल गुप्ता पटवालले नेपाली नागरिकता लिएको डेढ वर्षपछि रहस्य खुलेको हो।

भारतीय नागरिक विशाल गुप्ताले मितबहादुर दमाईको नामबाट नागरिकता लिएका छन्। उनले २०७५ मंसिर २५ गते ५२–०१–०७५–०४०५२ वंशजको नागरिकता प्राप्त गरेका थिए। उनले घोराही उपमहानगरपालिका वडा नं. ३ वर्गदा निवासी हिरालाल दमाईको छोरा बनेर नागरिकता लिएको पाइएको छ।

उनीविरुद्ध गलत विवरण पेश गरेर वंशजको नागरिकता प्राप्त गरेको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ। उनी अहिले पूर्पक्षको लागी कारागार चलान भएका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले विशाललाई जेठ १३ गते पक्राउ गरेको थियो। असार ८ गते गुप्तालाई जिल्ला अदालतले पूर्पक्षको लागी कारागार चलाउन गरेको छ।

गुप्ताबाट भारतीय विशिष्ट पहचान प्राधिकरणले जारी गरेको कार्ड समेत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए। प्रहरीले हिरालाल दमाई सहित घोराही उपमहानगरपालिका वडा नं ३ का वडा अध्यक्ष माधव चौधरी, वडा सचिव पद्मप्रसाद रेग्मी, कर्मचारी त्रिपुरा खड्का र सामाजिक परिचालक लीला अधिकारीविरुद्ध मुद्दा गरेको छ।

नागरिकता लिने विशाल गुप्ता बाहेक अन्य पाँचै जना फरारको सूचीमा छन्। आरोपित विशालले आफू भारतीय नागरिक भएको र गलत विवरण पेश गरेर नागरिकता लिएको प्रहरी समक्ष बयान दिएका छन्। घोराही उपमहानगरपालिका वडा नं. ३ को सिफारिसको आधारमा नागरिकता प्राप्त गरेका थिए। बंगलाचुली गाउँपालिका वडा नं. ३ बाट बसाइसराइको विवरण पेश गरेर सिफारिस बनाएका थिए।

घोराहीमा मजदुरी गर्दै आएका विशालले चार वर्षअघि सम्झना नेपालीसँग बिहे गरेका थिए। बिहेपछि एउटा बच्चा जन्मियो। अनि बच्चाको जन्मदर्ता गराउन र आफ्नो बिहे दर्ता गराउन खोज्दा नभएपछि सम्झनाले मित मामा नाता पर्ने हिरालाल नेपालीलाई जसरी पनि नागरिकता बनाइदिन अनुरोध गरिन्। अनि हिरालालले आफ्नो छोरा बनाएर नागरिकता दिलाइदिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *