राजु सदाको परिवारलाई ५ लाख दिने प्रदेश सरकारको घोषणा, छानविन समितिले थाल्याे अनुसन्धान

जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले सामान्य झाडापखालाको उपचार नपाएर ज्यान गुमाएका राजु सदाको परिवारलाई ५ लाख सहयोग गर्ने घोषणा गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले कोभिड १९ संक्रमणको आशंकामा चिकित्सकले जीवनजल समेत नदिएका कारण ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई राहत स्वरुप ५ लाख सहयोग दिने घोषणा गरेका हुन् ।

घटनामा छानविन समिति समेत गठन भइसकेकाे छ । समितिले काम सुरु गरिसकेको जनाउँदै मन्त्री यादवले छानबिनमा दोषी देखिने जोकोहीलाई कारबाही गरिने आश्वासन समेत दिएका छन् ।

प्रदेश सरकारले बिहीबार मात्र १६ वर्षीय राजु सदाको मृत्युबारे छानबिन गर्न स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो । समितिका सदस्यमा समाजिक विकास मन्त्रालयअन्तर्गत रहेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानुन उपसचिव दिलीपकुमार प्रधान रहेका छन् । समितिले राजुको मृत्यु के कति कारणले भएको हो भन्ने अध्ययन तथा अनुसन्धान गरी सात दिन भित्र प्रतिवेदन पेश गर्नेछ ।

जेठ ३ गते भारतको अहमदावादबाट आएका राजुलाई गाउँकै क्वारेन्टिनमै राखिएको थियो । आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई  जेठ २९ गते प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो ।

पछि राजुलाई झाडापखाला समेत लागेपछि कोरोना भन्दै चिकित्सकहरुले उपचार नगरेकाे परिवार तथा उनीसँगै आइसोलेसनमा बसेका साथीहरूकाे गुनासाे छ । पीसीआर टेस्टको लागि स्वाब संकलन गरिए पनि रिपोर्ट ढिलाे मात्रै आयाे । असार ८ रिपोर्ट नेगेटिभ आएपछि बल्ल अस्पतालले इमरजेन्सी कक्षमा भर्ना गर्याे तर उनी बाँचेनन् ।

१६ वर्षीय राजु रोजगारीका लागि भारत पसेका थिए । दक्षिण भारतको चेन्नईको होटेलमा काम गरेर उनले परिवारको आर्थिक जिम्मेवारी पूरा गर्दै आएका थिए । कोरोना प्रभावका कारण लकडाउनपछि होटेलले उनलाई कामबाट निकाल्यो । गाँस, वासको समस्या भएपछि उनी ९ जना साथीहरुसँग घर फर्किएका थिए ।

राजुको समूह १४ जेठमा गाउँ आइपुगेको थियो, उनीहरूलाई नगरपालिकाले लौवाखोरमा सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट आएकाको कोरोना परीक्षण गर्ने भने पनि उनीहरूलाई विनापरीक्षण क्वारेन्टाइनमा राखियो । क्वारेन्टिनमा बसेको १० दिनपछि जेठ २४ मात्रै परीक्षण गरियो ।

एक–दुई दिनपछि राजुलाई पखाला लाग्यो तर अस्पतालले पखाला किन लाग्यो भनेर सोधीखोजी गरेन सिधै कोरोना हो भनेर आइसोलेसनमा राख्यो । तर उपचार भने गरेन । पखालाले ग्रस्त भएका राजुले समयमै उपचार नपाएपछि ज्यान गुमाउनुपर्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *