धरानको १ अर्ब ७२ करोडको बजेटमा धराने कालाे बंगुर र तिनपाने रक्सीलाई प्रोत्साहन

धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले आगामी आर्थिक २०७७/७८ बर्षको लागि १ अर्ब ७२ करोडको नीति, तथा कार्यक्रम पारित गरेको छ । सातौं नगरसभाले आव ०७७/०७८ का लागि १ अर्ब ७२ करोड ३५ लाख ४३ हजार ५ सयको बजेट पारित गरेको हो । यो बजेट चालू बजेट भन्दा ५ करोडले कम हो । चालु बर्षको बजेट १ अर्ब ७७ करोड ९१ लाख छ ।

आगामी बर्षको आन्तरिक आयतर्फ ५३ करोड ४२ लाख ४३ हजार ५ सय अनुमान गरिएको छ । संघीय समानीकरण अनुदानतर्फ ३० करोड ७६ लाख, प्रदेश समानीकरण अनुदानबाट ९५ लाख ३५ हजार आय अनुमान गरिएको छ । यता संघीय राजश्व बाँडफाडबाट १६ करोड ४२ लाख २९ हजार ४ सय ४४ र प्रदेश राजश्व बाँडफाडबाट १७ करोड ३ लाख ८० हजार आय अनुमान गरिएको छ ।

संघीय समपुरक अनुदानबाट ३ करोड ३३ लाख, संघीय बिशेष अनुदानबाट १ करोड ५० लाख, जिल्ला समन्वय समितिबाट १ करोड, खानेपानी व्यवस्थापन बोर्डबाट १ करोड आय अनुमान गरिएको छ । यता सडक बोर्डबाट १ करोड २० लाख, जनसहभागिताबाट १ करोड ५० लाख आय अनुमान गरिएको छ ।

व्ययतर्फ प्रशासनिक खर्चमा ३१ करोड ८१ लाख ६८ हजार ५ सय विनियोजन गरिएको छ । वडागत प्रशासनिक खर्चमा २ करोड र कार्यक्रम तथा पूँजीगत खर्च २० करोड गरि २२ करोड विनियोजन गरिएको छ । क्रमागत भुक्तानीलाई २२ करोड ५५ लाख, नगर गौरवको आयोजनातर्फ ४ करोड ५० लाख विनियोजन गरिएको छ । बिषयगत कार्यक्रमहरु शिक्षा, पर्यटन, खेलकुद, सुचना, वन, वातावण लगायत अन्य पुँजीगत निर्माण सुधारतर्फ ९१ करोड ४८ लाख ७५ हजार विनियोजना गरिएको जानकारी दिइयो ।

नगरसभाले आगामी बर्ष शहरी योजना तथा भौतिक पुर्वाधार विकासतर्फ क्रमागत योजनाहरुको भुक्तानी तथा नयाँ कार्यक्रम र नगर गौरवको योजनाहरुको लागि ३५ करोड ४५ लाख विनियोजन गरेको छ । शिक्षा युवा तथा खेलकुदतर्फ कुल ३७ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ ५ करोड ३८ लाख, सामाजिक विकासतर्फ २ करोड २ लाख छुट्याइएको छ ।

आर्थिक विकासतर्फ कृषि, पशु, सहकारी र उद्योगको लागि १ करोड ९० लाख, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ १ करोड ३८ लाख विनियोजन हुँदा पर्यटनतर्फ १ करोड ५५ लाख, सुचना तथा संचारमा ३० लाख, साहित्य कला र संस्कृतितर्फ ३० लाख, अव्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापनतर्फ ५० लाख र मजदुर कल्याण कार्यक्रमका लागि ५ लाख बजेट विनियोजन गरिएको छ ।

नीति तथा कार्यक्रममा आदिवासी जनजातीहरुको पुस्तैनी कला र संस्कृतिको रुपमा हस्तान्तरण हुँदै आएको तिनपाने रक्सीलाई प्रर्बद्धन गर्ने, राष्ट्र तथा  अन्तराष्ट्रिय क्षेत्रमा लोकप्रिय धराने कालो बंगुरलाई ब्यवसायिकरण गरी धरानको आर्थिक समृद्धिसँग जोडिने कार्यक्रम तयार गर्ने भएको छ ।

नगरसभाले न्याय सम्पादनतर्फ २५ लाख विनियोजन गर्दा सार्वजनिक जग्गा संरक्षणमा ५० लाख, विमानस्थल जग्गा व्यवस्थापनमा ८० लाख, राजश्व सुधार तथा संस्थागत क्षमता विकासमा ४० लाख बजेट विनियोजन गरेको छ । नगर प्रोफाइल तथा जिएमएस अपडेटतर्फ ५० लाख र अन्य कार्यक्रमहरुमा २८ करोड १० लाख ७५ हजार बजेट विनियोजन गरिएको छ ।

मेयर कोषमा ८० लाख, मर्मततर्फ ५० लाख र आकस्मिक कोषमा ३० लाख बजेट विनियोजन गरिएको छ । विपद व्यवस्थापन कोषमा ८० लाख विनियोजन गर्दा कोभिड १९ लगायत महामारी नियन्त्रणको लागि ८० लाख विनियोजन गरिएको छ ।
नगरसभाले आगामी बर्षदेखि लागु हुने गरी जनप्रतिनिधिहरुको पोसाक भत्ता कटौती गरेको छ । नगरपालिकाबाट गठन गरिएका विभिन्न समितिहरुमा पदाधिकारीहरुले लिँदै आएको पारिश्रमिक पनि कटौती गरिएको छ । आगामी आर्थिक बर्षदेखि लागु हुने गरी नगरपालिकाका कर्मचारीहरुले पाउँदै आएको खाजा भत्तामा मासिक २ हजारका दरले कटौती पनि गरिएको छ ।

बुधबार वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अडोटोरीयम हलमा दिउसो १ बजेका लागि डाकिएको सभा ढिलोगरी सूरु भएको थियो । सातौ नगरसभाको बैठकबाट पारित नीति तथा कार्यक्रम र बजेट कार्यपालिका बैठकबाट पारित भएको धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारीले जानकारी दिईन ।

यसअघि हिजो मात्रै कार्यपालिका बैठक भाँडिएको घटनाप्रति मेयर तिलक राईले कमी कमजोरी सुधार गरी आत्मलोचना गर्दै क्षमा मागेपछि कार्यपालिका बैठक शुरु भएको थियो । ढिला गरि शुरु भएको बैठकको शुरुवातमै मेयर राईले सम्बोधन गर्दै हिजोको घटनाप्रति क्षमा मागेका थिए ।

तस्विरः भरतराज शर्मा (गाेपाल), मकालु खबर

कुन शिर्षकमा कति बजेट ? 

[wp-embedder-pack width=”100%” height=”600px” download=”all” download-text=”” attachment_id=”99977011083″ /]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *