धरानको कार्यपालिका बैठकमा भाँडभैलोः कांग्रेस वडाध्यक्षले अपशब्द बोल्दै बजेट सिलिङ च्यातेको आरोप

धरान । नेपाली कांग्रेसका वडाध्यक्षले धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा अपशब्द बोलेपछि कार्यपालिका बैठक भाँडिएको छ । नगरको आज बसेको कार्यपालिका बैठकमा मेयर तिलक राई पक्षका वडाध्यक्षहरुले अपशब्द बोल्दै नगरपालिकाले वडामा दिएको बजेट सिलिङ प्रति असहमति जनाउँदै हिँडेपछि नगरको कार्यपालिका बैठक भाँडिएको हो ।
बैठक नेपाली काँग्रेसबाट विजयी भएका धरान १ का वडाध्यक्ष रोशन अधिकारीले नगरपालिकाले वडामा दिएको बजेटको सिलिङमा चित्त नबुझेको भन्दै सिलिङ नै च्यातिदिएपछि बैठक तनावग्रस्त भयो ।

उनले बजेटमा आफुलाई चित्त नबुझेको बताउँदै गर्दा ५ नम्बर वडाध्यक्ष सन्तोष लिम्बु र १८ नम्बर वडाध्यक्ष प्रवीण राईले पनि कार्यपालिका बैठकमा बजेटको सिलिङमा असहमति जनाएका थिए । तीन जना नेपाली कांग्रेसबाट विजयी भएका वडाध्यक्षहरुले मेयर तिलक राईकै अघिल्तिर अपशब्द प्रयोग गरिरहँदा मेयर भने मुकदर्शक मात्र भएको नेकपाका एक वडाध्यक्षले मकालु खबरसँग भने ।

नगर कार्यपालिकामा भएका अभद्र ब्यवहारकाे जानकारी दिँदै वडा नं. १७ का वडाध्यक्ष मनाेज भट्टराइ, तस्विरः भरतराज शर्मा (गाेपाल) मकालु खबर

भोली हुने नगरसभामा नगरको नीति तथा बजेट सार्वजनिक गर्नुपर्नेमा आजको कार्यपालिका बैठकमा नेपाली काँग्रेस पक्षका वडाध्यक्षहरूले मेयरकै अगाडी अपशब्द बोलेको र बैठक स्थलबाट बाहिरिए पछि नेकपा पक्षका वडाध्यक्षहरूले पनि बैठक स्थल छाडेका थिए ।

त्यसपछि नेकपा पक्षका वडाध्यक्षहरूले कार्यपालिका बैठकमा बुधवार हुने नगर सभामा प्रस्तुत गर्ने नीति तथा बजेटको सिलिङ पास गर्ने गरी बसेको कार्यपालिका बैठकमा नेपाली कांग्रेस निकट वडाध्यक्षहरुले बैठकमा देखाएको ब्यहोरा आजै साँझ पार्टी कार्यालयमा भेला भएर नेकपाका नेताहरुलाई जानकारी दिएका थिए ।

उनीहरूले कार्यपालिकामा काँग्रेस पक्षका वडाध्यक्षहरूले अमर्यादित शब्द बोल्दै नगरप्रमुखले वितरण गरेको प्रस्तावित बजेटको सिलिङ च्यातेको, बैठक राम्रो सँग रुलिङ गर्न नसकेको नेकपाका नेताहरुलाई जानकारी गराएका थिए ।
भने, त्यसपछि उनीहरुले कार्यपालिका बैठकमा अपशब्द बोल्दै बजेटको सिलिङ च्यात्ने धरान वडा नं. १ का अध्यक्ष रोशन अधिकारी, ५ नं. वडाध्यक्ष सन्तोष लिम्बु तथा १८ नं. वडाध्यक्ष प्रविण राईले माफी माग्नु पर्ने बताएका छन् ।

बजेट सिलिङको कार्यपालिका बैठक अबरुद्ध भएपछि भोलि हुने नगर सभा पनि अनिश्चित भएको छ । आज बसेको बैठक स्थगित भएकोले भोली बिहान अर्को कार्यपालिका बैठक बस्ने निर्णय गरिएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए ।

बिहान बस्ने कार्यपालिका बैठकले नगर सभामा लाने नीति तथा बजेटको सिलिङ पास गर्ने भनिएपनि नेकपा पक्षका वडाध्यक्षहरुले कांग्रेस पक्षका वडाध्यक्षले माफि माग्नुपर्ने बताएका छन् । नेकपा इन्चार्ज चोत्लुङले कार्यपालिका बैठकमा भएको घटना प्रति मेयरको मौन समर्थन देखिएकोले पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताए ।

यता धरान वडा नं. १ का वडाध्यक्ष रोशन अधिकारीले आफुले बजेटमा असन्तुष्टि पोखेको तर, अमर्यादित भाषा प्रयोग नगरेको र बजेट सिलिङ समेत नच्यातेको बताएका छन् । वडा नं. १८ का वडाध्यक्ष प्रविण राईले पनि आफुहरुले बजेट सिलिङ प्रति असहमति प्रकट गरेपनि अमर्यादित र अपशब्द प्रयोग नभएको जिकिर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *