असाध्यै महँगाे यी ६ बलिउड सेलिब्रिटीको सम्बन्धविच्छेदः कसले कति चुकाए रकम ?

काठमाडौं । आजभोली सम्बन्ध टिकाइराख्न गाह्रो छ । विशेषगरी चलचित्र क्षेत्रमा लागेका जोडीहरुको सम्बन्ध विच्छेद बढी हुने गरेको पाइन्छ । उनीहरुको सम्बन्ध विच्छेद महंगो समेत हुन्छ ।
सम्बन्ध विच्छेदका क्रममा हकदाबी नगर्ने सेलिब्रेटी पनि नभएका भने होइनन् तर बाहुल्यता सम्पत्ति र पैसा बाँडफाँडकै छ । उनीहरुको विवाह र पार्टी सधैं चर्चामा छाइरहन्छ तर केहि सेलिब्रिटीले जसरी आफ्नो विवाहमा करोडौं रकम उडाए त्यसरी नै सम्बन्धविच्छेदका लागि पनि करोडौं रकम चुकाउनुपरेको छ ।
केहि सेलिब्रिटीको त विवाहमा भन्दा सम्बन्धविच्छेदका लागि धेरै पैसा खर्च भयो । भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले बलिउडका ६ सेलिब्रेटीको महँगो सम्बन्धविच्छेदबारे उल्लेख गरेको छः

सञ्जय दत्त र रिया पिल्लई
रिया पिल्लई सञ्जयकी दोस्री श्रीमती थिइन् । सञ्जयले सम्बन्धविच्छेद भइसकेपछि पनि निकै लामो समयसम्म रियाको खर्च उठाउने गरेको बताइन्छ । क्षतीपूर्तीको रुपमा उनले रियालाई कति पैसा दिए त्यसबारे आधिकारिक खुलासा त गरिएन तर खबरलाई विश्वास गर्ने हो भने सञ्जयले ४ करोड दिएका थिए । यसका साथै महँगो कार पनि दिएका थिए ।

करिष्मा कपुर र सञ्जय कपुर
९० की दशककी चर्चित नायिका करिष्मा कपुरले विवाह गरेको ११ वर्षपछि सन् २०१६ मा सम्बन्धविच्छेद गरेकी थिइन् । सम्बन्धविच्छेदका लागि उनी र उनका श्रीमान् सञ्जयबीच १४ करोडको सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यस अनुसार व्यापारी सञ्जयले हरेक महिना १० लाख भारु भुक्तानी गर्नेछन् । यो पैसा उनीहरुका दुई सन्तानको हेरविचारमा खर्च गरिनेछ ।

ऋतिक रोशन र सुजैन खान
ऋतिक रोशन र सुजैन खानको सम्बन्धविच्छेद भारतमा मात्रै नभई संसारकै महँगो सम्बन्धविच्छेदमध्येको एकमा गनिन्छ । यी दुईको विवाह सन् २००० मा भएको थियो र अफेयरको खबरका कारण यो जोडीले सम्बन्धविच्छेद गरेको थियो । सुजैन खानले एलिमनीको रुपमा चार सय करोड भारु माग गरेको बताइन्छ तर उनलाई ३८० करोड भारु दिइएको थियो ।

सैफ अली खान र अमृता सिंह
विवाह जस्तै सैफ र अमृताको सम्बन्धविच्छेद पनि निकै चर्चित भएको थियो । १३ वर्ष जेठी अमृतासँग विवाह गरेको १३ वर्षपछि सैफले उनीसँग सम्बन्धविच्छेद गरे । एक अन्तरवार्ताको क्रममा सैफले सम्बन्धविच्छेदका क्रममा ५ करोड भारुको एलिमनी निश्चित गरिएको जसमध्ये २।५ करोड आफूले दिइसकेको बताएका थिए । साथै उनले आफ्ना सन्तानको हेरविचारका लागि हरेक महिना १ लाख भारु पनि अमृतालाई दिने गरेको बताएका थिए ।

आमिर खान र रिना दत्ता
मिस्टर पर्फेक्सनिस्ट भनिने आमिर खानले आफ्ना अभिभावकको मर्जी बिना सन् १९८६ मा रिना दत्तासँग विवाह गरेका थिए तर केहि वर्षपछि नै यी दुईबीच मतभेद सुरु भयो । सन् २००२ मा यो जोडीको सम्बन्धविच्छेद भयो । रिपोर्टलाई विश्वास गर्ने हो भने आमिरले क्षतिपूर्तीको रुपमा ५० करोड भारु रिनालाई दिएका थिए ।

अरबाज खान र मलाइका अरोडा
कुनै बेला बलिउडका सबैभन्दा हट जोडीमध्ये एक मानिने अरबाज खान र मलाइका अरोडाको सम्बन्धविच्छेदको खबरले पनि थुप्रैलाई चकित बनाएको थियो । यी दुईको सम्बन्धविच्छेदको एलिमनीको कुनै आधिकारिक खुलासा गरिएन तर खबरलाई विश्वास गर्ने हो भने मलाइकाले क्षतिपूर्तीको रुपमा १५ करोड भारु माग गरेकी थिइन् ।








