‘सरकारले विज्ञहरुको कुरा नसुनेर ठूलो गल्ती गर्यो’ उपाध्यक्ष, नेपाल मेडिकल काउन्सिल (भिडियाे सहित)

काठमाडौं । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. नारायण विक्रम थापाले कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथाममा सरकारले गल्ती गरेको बताएका छन् । चीन लगायत युरोप अमेरिका तिर कोभिड–१९ फैलँदै गर्दा नेपालले पूर्व तयारी गर्ने प्रर्याप्त समय पाएपनि गर्न नसकेको उनको दावि छ ।

‘कोभिड–१९ रोकथाम र नियन्त्रणमा साबधानी अपनाउन हामीसँग प्रर्याप्त समय भएपनि सरकारले उचित कदम चाल्न सकेन ।’ मकालु खबरसँग कुरा गर्दै डा. थापाले भने । उनले सरकारले विज्ञहरुको सल्लाह सुझाव समेत नसुनेको बताए । स्वास्थ्य मन्त्रालयले विज्ञहरुको सल्लाहकार टीम बनाएपनि उनीहरुले दिएको सुझाब कार्यान्वयन गर्न नसकेको जिकिर गरे ।

‘विज्ञहरुको समिति गठन गरीएको छ । हामीले पनि आफ्नो तर्फबाट उचित सल्लाह सुझाव दिइरहेका छौं तर, कार्यान्वयन चैं भइरहेको छैन ।’ उनले विज्ञहरुले आरडिटी परीक्षण नगर्नु भनेर सल्लाह दिएपनि सरकारले नसुनेको जनाए । ‘विज्ञहरुले बारम्बार स्वास्थ्य मन्त्रालयलाई आरडिटी नगर्नु भनेका छन्, तर खै किन हो मन्त्रालयले आरडिटीलाई नै महत्व दिइरहेको छ ?’

विश्व स्वास्थ्य संगठनले समेत मान्यता नदिएको आरडिटी परीक्षणलाई सरकारले प्रयोग गरेर जनताको स्वास्थ्य माथि खेलवाड गरेको डा. थापाको भनाई छ । ‘पिसिआर गर्नुपर्ने ठाउँमा आरडिटी गरेर गल्ती त सरकारबाट भएकै हो ।’ डा. थापाले भने ।

उनले काेराेना स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नु ठूलाे पाप गरेकाे जनाए । काउन्सिल उपाध्यक्ष थापाले कोरोना संक्रमण अहिलेको भन्दा भयावह अवस्थामा जानसक्ने बताउँदै अब सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए । उनले बढिभन्दा बढि कोरोना परीक्षणको दायरा बढाउनु पर्ने, संक्रमितलाई ब्यवस्थित रुपमा आइसोलेसनमा राख्ने र विदेशबाट आएका नागरिकलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्ने ब्यवस्था नगरे भोली स्थिति नियन्त्रण बाहिर जान सक्ने खतरा रहेको औंल्याए ।

सामाजिक दुरी कायम गरेरै कोरोनालाई पराजित गर्नुको विकल्प नभएको अवस्थामा लकडाउन खुकुलो गर्दा जोखिम बढेको डा. थापाको तर्क छ । ‘पर्याप्त सुरक्षा र सावधानी नअपनाइकन लकडाउन खुकुलो गरियो यसले भोलीका दिनमा हामीलाई झनै खतरा बढेको छ ।’ उनले भने ।

हेर्नुहोस भिडियो अन्तर्वार्ताः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *