वीपी प्रतिष्ठानका असिस्टेन्ट प्रोफेसर डा. गुप्ता परमाणु विज्ञ सदस्यमा नियुक्त

धरान । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडियोलोजी विभागका एसिस्टेन्ट प्रोफेसर डा. अरुण गुप्तालाई परमाणु विज्ञान प्रविधि विज्ञको रुपमा मनोनित गरेको छ ।

डा. गुप्तालाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले परमाणु विज्ञान प्रविधि सल्लाहकार समितिमा विज्ञ सदस्यको रुपमा ३ बर्षको लागि मनोनित गरेका हुन् । विज्ञान तथा सल्लाहकार समिति गठन सम्बन्धी मापदण्ड २०७५ वमोजिम विज्ञान तथा प्रविधि सचिव संयोजक रहने गरि सल्लाहकार समिति गठन भएको छ ।

डा.गुप्ताले सन् २०१५ मा दक्षिण कोरियामा पिएचडी अध्ययनको लागि गएका थिए । उनले सन् २०१८ मा सोल नेशनल युनिभर्सिटीबाट न्युक्लियर मेडिसिनमा पिएचडी हासिल गरेका छन् । उनी न्युक्लियर मेडिसिनमा पिएचडी गर्ने थोरै नेपाली मध्येमा पर्छन् ।

अब डा. गुप्ताले न्युक्लियर विज्ञान प्रविधि सम्बन्धी कुनै काम गर्नुपर्दा सरकारलाई सल्लाहकार समिति र विज्ञकोरुपमा राय सल्लाह दिनेछन् । सरकारले भविष्यमा अनुसन्धान केन्द्र खोल्ने योजना बनाएको छ । त्यसलाई कसरी अघि बढाउने भन्ने विषयमा डा. गुप्ताले सरकारलाई परामर्श दिन सक्नेछन् ।

सरकारले साइक्लोट्रोन राख्ने र त्यहाँबाट रेडियोधर्मी पदार्थ अर्थात रेडियो आइसोटोप उत्पादन गर्ने सोच बनाएकोले नेपालमा सम्भावना के छ, जनशक्ति उत्पादन कसरी गर्ने विषयमा डा. गुप्ताको भूमिका र सल्लाह महत्वपूर्ण रहनेछ ।

रेडियो आइसोटोप क्यान्सर परीक्षण र उपचारमा अति आवश्यक वस्तु हो । नेपालमा भर्खरै रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धी विधेयक २०७६ संसदबाट पारित भएको छ ।

डा.गुप्ताले सन् २०१० मा भारतको दिल्लीस्थित एम्सबाट न्युक्लियर मेडिसिनमा स्नातकोत्तर(एमएस्सी) गरेका थिए । उनले भाभा अटोमिक रिसर्च सेन्टरबाट रेडिएसन सेफ्टी अफिसर(आरएसओ) उत्तीर्ण गरेर दिल्ली स्थित दिवानचन्द अग्रवाल पेटरसिटि सेन्टरमा कार्यरत रहँदै वीपी प्रतिष्ठानले धरान बोलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *