अबदेखि राती १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने

काठमाडौं । सरकारले राती हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयले राती १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाएको हो ।

शुक्रबार गृह मन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ ।

मन्त्रालयका अनुसार असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड तयार पारिएको हो । रातिको समयमा नागरिकलाई हिँडडुल गर्न कडाइ गर्ने व्यवस्था गरिएको छ । रातिमा हुने हिँडडुलको अनुगमन नेपाल प्रहरीले गर्नेछ ।

यसै गरी मन्त्रालयले विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरेको छ । उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन पाईंदैन ।

गृहले कोभिड–१९ संक्रमणको जोखिम कायम नै रहेको भन्दै सबै नागरिकलाई स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ । अत्यावश्यक काम बाहेक आफू रहेको आवास र कार्यस्थलबाट अन्यत्र आवतजावत नगर्न, नगराउन भनेको छ ।

यसका साथै हिँडडुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्न भनिएको छ । कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवतजावत गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न गृह मन्त्रालयले भनेको छ ।

यसैगरी गृहले ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन प्रोत्साहित गर्न भनेको छ । गृहको आदेश कार्यान्वयमा खटिएका सुरक्षा अधिकारीहरुलाई पनि उच्च सावधानी अपनाएर काम गर्न भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *