चेपाङ समुदायका युवा वैज्ञानिक, जसले कार र प्यारामोटर बनाए

- ध्रुवराज खनाल
चितवन । एक सिटको प्यारामोटर निर्माण गरि सफल परिक्षण समेत गरेका चितवन गड्यौलीका सरोज चेपाङ अहिले विद्युतिय कार र प्यारामोटर बनाउन व्यस्त छन् । राप्ती नगरपालिका २ गड्यौली मिलन टोल बस्ने युवा वैज्ञानिक सरोजले पेट्रोलबाट चल्ने कारलाई परिवर्तन गरि चार्ज गरेर चलाउन मिल्ने कार बनाइरहेका छन् ।
दुई वर्षअघि राप्ती नदि किनारमा प्यारामोटर सफल परिक्षण गरेका उनको व्यस्तता अहिले कार बनाउनमा छ । चालकसहित पाँच जनाको क्षमता भएको पेट्रोलबाट चल्ने कारलाई परिवर्तन गरि चार्जबाट चल्ने बनाएका हुन् । उनले सो गाडी परिक्षण पनि गरिसकेका छन् । ४ घण्टा चार्ज गरेपछि १ सय २० किलोमिटर चल्ने उनको दावी छ । उनले नयाँ कार बनाउँदा १० लाखदेखि १२ लाख सम्म खर्च हुने बताए ।

पाँच जना क्षमताको कारसँगै उनले तीन पांग्रे कार पनि बनाईरहेका छन् जसमा दुई जना मात्र अट्ने छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर रामेश्वर अधिकारीले अर्डर गरेकाले तीन पांग्रे कार बनाईरहेको सरोजले बताए । सो कारको बाहिरी भाग बनाउन बाँकी छ । लकडाउनका कारण निर्माणमा समस्यामा परेको उनले सुनाए । कारसँगै उनले दुई सिटको प्यारामोटर पनि बनाईरहेका छन् ।
उनले एक पटक परिक्षण गरिसकेको बताएपनि आधिकारिक रुपमा सरोकारवालाहरुको उपस्थितीमा पुनः परिक्षण गर्ने तयारी गरेका छन् । ‘कारसँगै प्यारामोटर समेत निर्माण गरिएको छ । लकडाउनले सामान खरिदमा समस्या परेकाले निर्माण पुरा हुन सकेको छैन्,’ सरोजले भने । लगातार काम गरे १५ दिन तीन पांग्रे कार बन्ने उनको दावी छ ।
एउटा एयर बोट बनाएर पोखरीमा परिक्षण गरेपनि त्यसले त्यति चर्चा पाएन् तर अहिले पाँच वटा एयरबोट अर्डर आएको उनले बताए । उनीसहित डाक्टर रामेश्वर अधिकारी, चिरञ्जिवी ओली, रोमान्च डल्लाकोटी र सन्तवहादु चेपाङ मिलेर सरोज चेपाङ परिक्षण तथा प्रशिक्षण केन्द्र दर्ता गरेका छन् । यसलाई प्रालिको रुपमा विस्तार गर्ने तयारी छ । सुरुदेखि केन्द्र निर्माण र गाडी निर्माणका लागि हालसम्म ४० लाखभन्दा बढि खर्च भईसकेको सरोजले बताए ।
केन्द्रले एयर एम्बुलेन्स र ३२ सिटे बस निर्माण गर्ने योजना बनाएको छ । सिमान्तकृत समुदायको रुपमा चेपाङ समुदायलाई लिईन्छ । त्यसैले पनि राप्ती नगरपालिकाले सरोजको प्रयासलाई साथ दिँदै हालसम्म करिब ३ लाख बराबरको सामान सहयोग गरिसकेको छ । प्यारामोटर बनाएर सफल परिक्षण गरेपछि संघीय सरकार र बागमती सरकारले समेत युवा वैज्ञानिकका रुपमा सम्मान गरिसकेको छ ।
उनी सामान्य परिवारका हुन् । उनका बुवा कतारमा रोजगार गर्छन् । बुबा-आमाकाे सहयोगले नै आफु यो ठाउँमा आईपुगेको सरोजले बताए ।कक्षा पाँचसम्म अध्ययन गरेका सरोजले काठमाडौँमा ४ वर्ष मेकानिकको काम गरेका थिए । त्यसपछि घर फर्किएर ड्राईभिङ सिकेर उनी साउदी पुगे ।
साउदीमा चार महिना मात्र टिक्न सके । साउदीबाट फर्केर उनी फेरी काठमाडौ पहिलेकै काममा फर्किए । त्यहाँको कमाईले टिक्न सक्ने अवस्था नरहने लागेपछि आफैँले केही गर्ने सोच बनाएर उनले आफ्नै ठाउँमा प्यारामोटर बनाउन सुरु गरेका थिए ।








