नोबेलको अत्याधुनिक न्यूरो सर्जरी सेवाले बिरामीलाई सहज

बिराटनगर । नोबेल शिक्षण अस्पतालले दक्षिण पूर्वी एशियामै पहिलोपटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेको छ । अस्पतालले सो सेवा सुरु गरेपछि बिरामीहरुलाई सहज भएको छ । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा थालेको नोबेलले जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ ।

नोबेलले तीन वर्षको अवधिमा नेपालसहित विभिन्न देशका न्यूरो सम्बन्धि २ हजारभन्दा बढी बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिसकेको छ । बर्षौदेखि रोग पालेर बसेका बिरामी पनि नोबेलमा शल्यक्रिया गराएर निको भएका छन् । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरी भरपर्दो उपचारलाई निरन्तरता दिइएपछि राम्रो उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको बिरामीहरु बताउँछन् ।एउटै अस्पतालमा न्यूरो सर्जरीसहित सम्पूर्ण उपचार सेवा पाउँदा धेरै सहज भएको नोबेलमा उपचाररत भोजपुरका जागिरमान राईले बताए । ‘न्यूरो सम्बन्धि जटिल समस्याका लागि पनि अन्त जानुपर्दैन । सवै उपचार नोबेलमै पाउँदा धेरै सजिलो भएको छ’ उनले भने ।

यता,  छोराको अप्रेशनका लागि आएकी सिरहा सुखिपुरकी सीतादेवी शाहले पनि अत्याधुनिक सेवा पाउँदा धेरै राहत मिलेको बताइन् । उनीहरु जस्ता अधिकांश बिरामी र बिरामीका आफन्तले नोबेलमा अत्याधुनिक सेवा पाउँदा सहजता मिलेको प्रतिक्रिया दिने गरेका छन् । नोबेलले दुई अर्ब २० करोडको लगानीमा दक्षिणपूर्वी एशियामै पहिलोपटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेको हो । सेवा सुरु गरेपछि विश्वकै दुर्लभ र जटिल मानिने शल्यक्रिया पनि सफलतापूर्वक गरिँदै आएको छ । नोबेलमा नेपालका विभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशका बिरामी पनि न्यूरो सर्जरीका लागि आउने गरेका छन् । फिनल्याण्डका बिरामीले समेत नोबेलमा आएर ब्रेन ट्यूमरको शल्यक्रिया गराएका छन् ।

नोबेलमा ओ-आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोप लगायत अत्याधुनिक उपकरण छन् । अत्याधुनिक उपकरण र दक्ष चिकित्सक भएकाले जटिल शल्यक्रिया पनि सफलतापूर्वक गरिँदै आएको नोबेल अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले बताउँछन् । गुणस्तरीय सेवामा केन्द्रित हुँदै गएको नोबेलले न्यूरोसहित कार्डियो, पल्मो लगायत सेवामा पनि स्तरीयता बढाउँदै लगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *