चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या २० पुग्यो

काठमाडौं । लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ ।

भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ । वक्तव्यमा भनिएको छ: भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा सङ्घर्ष विराम भएको छ, जहाँ दुवै पक्षबीच १५\१६ जुनको रातमा भिडन्त भएको थियो ।

भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको छ । मङ्गलवार केही अघि भारतले गलवान क्षेत्रमा भएको भिडन्तमा सेनाका एक वरिष्ठ अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको पुष्टि गरेको थियो ।

योसँगै उक्त घटनामा ज्यान गुमाउने भारतीय सैनिकहरूको सङ्ख्या २० पुगेको छ । चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तमा आफ्ना कति सैनिक हताहत भए भन्नेबारे कुनै विवरण सार्वजनिक भएको छैन ।

के भन्छ चीन?
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकले सीमा नाघेर ‘चिनियाँ सैनिकलाई आक्रमण गरेर दुई पक्षका सीमा सुरक्षा बलबीच गम्भीर शारीरिक सङ्घर्ष भएको’ बताएको समाचारमा जनाइएको छ ।

बेइजिङले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि गरेको छैन । तर भारतीय सेनाले चिनियाँ सैनिकहरू पनि हताहत भएको दाबी गरेको छ । भारतीय पक्षले यो घटनामा गोली नचलेको दाबी गरेको छ । केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ ।

चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार चिनियाँ विदेशमन्त्रालयले विद्यमान विवादलाई वार्ताबाट समाधान गरिने र त्यसका लागि दुवै देश तयार भएको जनाएको छ ।

विवाद कहिलेदेखि?
भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ । तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो ।

दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो । त्यसमा भारत नराम्ररी पराजित भएको थियो । चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ। त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ ।

सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन् । गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *