चीन-भारत सीमामा झडप, तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं। भारतको लद्दाखस्थित गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा भारतीय वरिष्ठ सैन्य अधिकारीसहित तीन जनाको मृत्यु भएको छ। सोमबार राति भएको झडपमा भारतीय सेनाका वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको थियो। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ। सेनाका अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गर्दैछन्।

घटनाबारे थप विवरण आउन बाँकी छ। भारतीय सेनाले घटनाबारे जानकारी दिन अहिले २ बजे पत्रकार सम्मेलन गर्न जनाइएको छ। लद्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच तनाव बढ्दै गएको थियो। यता चीनले भारतलाई तनाव बढ्नेगरी कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारत-चीन सीमामा ४५ वर्षपछि पहिलो पटक दोहोरो झडपमा सैनिकको मृत्यु भएको हो। १९६७ मा सिक्किममा भारत र चीनका सैनिक आमनेसामने भएका बेला ८० भारतीय सैनिक मारिएका थिए भने चिनियाँ सैनिकमा पनि हताहती भएको थियो। १९७५ यता भने दुई देशका सैनिकहरूले एकअर्काको ज्यान लिएका थिएनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *