‘डेथबडी’ व्यवस्थापनका लागि तयारी रहन स्थानीय तहलाई आग्रह

खोटाङ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले ‘डेथबडी’ व्यवस्थापन गर्न तयारी अवस्थामा रहन स्थानीय तहलाई आग्रह गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण हुने डेथबडी व्यवस्थापन गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै समन्वय समितिले जिल्लाका १० वटै स्थानीय तहलाई तयारी अवस्थामा रहन आग्रह गरेको हो ।
समितिको १५ औँ बैठकले डेथबडी व्यवस्थापन गर्नुपर्ने अवस्था आए सम्बन्धित स्थानमा घाट तोक्ने र त्यसका लागि सम्बन्धित स्थानीय तहले नै आवश्यक सामग्रीको व्यवस्था गर्ने वातावरण मिलाउन आग्रह गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए ।
‘विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको असर जिल्लामा पनि नपर्ला भन्न सकिन्न’, उनले भने, ‘यदि त्यस्तो भएको खण्डमा डेथबडी व्यवस्थापन गर्न जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र नेपाली सेनासँग आवश्यक समन्वय गर्न भनिएको छ ।’
यसैबीच समितिको बैठकले सरकारले लागू गरेको बन्दाबन्दीको समयमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न संयुक्तरूपमा बजार अनुगमन गर्ने निर्णय गरेको छ ।
बन्दाबन्दीको अवधिमा कतिपय व्यवसायीले धेरै मूल्य लिने गरेको र मिति नाघेका सामान बिक्री गरिरहेको जनगुनासोका आधारमा बजार अनुगमन गर्ने निर्णय गरिएको हो । रासस








