कोरोनाको मृत्युदर घट्यो, बेलायत र फ्रान्समा सामान्य बन्यो जनजीवन

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट हुने दैनिक मृत्यु र संक्रमणमा तुलनात्मक रुपमा कमि आएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर नयाँ संक्रमण र दैनिक मृत्युमा कमि आएको हो ।
वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार ३ हजार ४ सय १५ जनाको मृत्यु भएको छ । पछिल्लो एक सातायता घटेको मृत्युदर अहिले स्थिर रहेको छ । हालसम्म ४२ लाख १३ हजार ६ सय २ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ ।
चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ४ लाख ३९ हजार ८५ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ८१ लाख १३ हजार ६७९ छ ।
बेलायत र फ्रान्समा सामान्य बन्यो जनजीवन
लकडाउनका कारण घरमै थुनिन बाध्य भएको बेलायत र फ्रान्सवासीको जनजीवन सामान्य बन्दै गएको छ । बेलायतका मुख्य सडकका पसलहरु खुलेका छन् भने फ्रान्समा बार, रेस्टुराँ र पौडी पोखरी खुलेका छन् ।
कोरोना संक्रमण फैलिएसँगै बेलायतमा करिब ११ साताअघि लकडाउन गरिएको थियो । सोमबारदेखि बेलयातका मुख्य सडकका पसलहरु खुलेपछि किनमेल गर्ने ग्राहकको निकै भीड लागेको थियो । बेलायतले मार्च २३ मा लकडाउन गरेको थियो । सस्तो समानका लागि लोकप्रिय प्रिमार्क, टीके म्याक्सजस्ता पसलहरुबाहिर बिहानैदेखि मानिसको निकै भीड लागेको थियो ।
लकडाउन चरणबद्ध रूपमा खुकुलो बनाउँदै जाने बेलायत सरकारको योजनाअनुरूप अत्यावश्यक सेवाबाहेकका व्यवसायहरु पनि सञ्चालनमा आएका हुन् । देशैभर आफ्ना स्टोरहरु रहेका ठूला चेन व्यवसायहरुमध्ये केहीले सबै स्टोर सञ्चालनमा ल्याएका छन् । कतिपयले भने तत्कालका लागि सीमित स्टोर मात्रै खुला गरिएको जनाएका छन् ।
सोमबारदेखि कोभिड–१९ का लागि ‘हरित क्षेत्र’ घोषणा भएसँगै फ्रान्सको राजधानी पेरिसलगायत स्थानामा जनजीवन सामान्य बनेको हो । राष्ट्रपति एमानुयल माक्रोंले यसअघि निर्धारण गरिएका उच्च जोखिमका क्षेत्र हटाएपछि अधिकांश क्षेत्रमा होटल, रेस्टुरेन्ट, बार र कफी सप खुलेका हुन् । यद्यपि त्यस्ता पसलमा ग्राहक तथा कामदारले सामाजिक दूरी र स्वास्थ्यसम्बन्धी नियम भने पूर्णरूपमा पालना गर्नुपर्नेछ ।
कोभिड–१९ को संक्रमण फैलिँदै गएपछि फ्रान्समा मे ११ मा लकडाउन घोषणा गरिएको थियो । त्यसयता संक्रमणको अवस्थाअनुसार विभिन्न क्षेत्रलाई हरियो, पहेंलो, सुन्तला र रातो रंगमा विभाजन गरिएको थियो । रातो र सुन्तला रंग निर्धारण गरिएका क्षेत्रका अस्पतालहरुमा बिरामीको निकै चाप बढेको थियो ।








